विराटनगर । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार धनकुटाको राजारानी फुटबल क्लब र भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङ बीचको प्रतिस्पर्धा सकिएपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । कालिङम्पोङलाई पराजित गर्दै राजारानी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

यसअघिका प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं, सिरहाको सहलेस युथ क्लब र आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार पहिलो सेमिफाइनल खेलमा सोमबार डाँगीहाट र एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

आइतबारको खेलमा ४-० गोल अन्तरको जित निकाल्दै पाहुना टोली कालिङम्पोङको चुनौती पन्छाएर राजारानीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको सुरुवातमा उत्कृष्ट प्रर्दशन गरे पनि स्कोर निकाल्न नसक्दा कालिङम्पोङ निराश बनेर प्रतियोगिताबाट बिदा भयो । कालिङम्पोङको पटक पटकका अवसर खेर गए ।

राजारानीको फराकिलो जितमा छिरिङ गुरुङ, निशान लिम्बू, मनिष थापा र बुद्ध चेम्जोङले गोल गरे । राजारानीले खेलको ३५ औँ मिनेटमा गोलको खाता खोलेको थियो । सुनील खड्काको क्रसलाई सदुपयोग गर्दै छिरिङ गुरुङले बललाई पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाउँदा विदेशी मैदानमा कालिङम्पोङ दबाब झेल्न बाध्य भयो ।

पहिलो हाफ १-० को अवस्थामा सकिए पनि थप ३ गोल राजारानीले मध्यान्तरपछि गरेको हो । खेलको ७३ औँ मिनेटमा राजारानीका निशान लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । सेन्टरबाट पाएको पासलाई अघि बढाएका उनले भारतका गोलरक्षक रिसब तामाङलाई बिट गर्दै गोल गरेका हुन् ।

राजारानीका लागि थप २ गोल इन्जुरी समयमा मात्रै सम्भव भयो । इन्जुरी समयमा राजारानीका मनिष थापाले गोल थप्दै खेललाई ३-० को अवस्थामा पुर्याए । योमन लिम्बूले प्रहार गरेको बल गोलरक्षक रिसब तामाङलाई लागेर रिबाउण्ड भएपछि थापाले सदुपयोग गरेका हुन् ।

एक पक्षीय खेलको इन्जुरी समयमै राजारानीले थप अर्को गोल पनि गर्यो । खेल सकिनै लाग्दा बुद्ध चेम्जोङले गोल गरेर टिमलाई फराकिलो अन्तरको जित दिलाए । उनले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको बाटो तय गरेको थियो ।

सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखेको कालिङम्पोङले लय गुमाउँदै जाँदा नतिजा विपक्षीको पोल्टामा पर्यो । सान्त्वना गोलसमेत फर्काउन नपाइ कालिङम्पोङ प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफमा १ गोलले मात्रै पछि परेको उसले मध्यान्तरपछि थप ३ गोल खाएको हो ।

मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै राजारानीले कालिङम्पोङलाई दबाबमा राख्यो । जसका कारण राजारानी विदेशी टोलीविरुद्ध फराकिलो अन्तरको जित निकाल्न सफल भएको हो ।

कालिङम्पोङले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमायो । कप्तान सनम लेप्चाको पासमा दिनेश राईको प्रहारलाई राजारानीका गोलरक्षक पुजन होनाले उत्कृष्ट ढंगले बचाए । ६८ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा सनम लेप्चा असफल भए । बारम्बार गोल गर्ने अवसर खेर जानु कालिङम्पोङको दुर्भाग्य बन्यो ।

आइतबारको खेलको म्यान अफ दी म्याच राजारानीका कप्तान बुद्ध चेम्जोङ घोषित भए । उनले पुरस्कारवापत ५ हजार रूपैयाँ पाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु