सुनसरी । सुनसरीका सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट अध्यापन गरिने भएको छ । बर्जु गाउँपालिकाका तीनवटा माध्यमिक विद्यालयका बालविकास कक्षाहरुमा परीक्षणको रुपमा उक्त प्रविधिबाट अध्यापन सुरु गर्न लागिएको हो ।

वडा नम्बर १ मा रहेको नवदुर्गा माध्यमिक विद्यालय रामगन्ज बेलगछिया, रामसीता माध्यमिक विद्यालय बर्जु २ भीमपुर र नेपाल राष्ट्रिय शिव माध्यमिक विद्यालय बर्जु ३ मा आधुनिक प्रविधिमार्फत पढाइ हुन थालेको हो ।

अहिले परीक्षणको रुपमा बाल कक्षामा लागू गरिएको छ । यसको प्रभावकारिता हेरेर अन्य सबै विद्यालयमा ‘टकिङ टिचर’ अर्थात आफैं पढाउने कलम र स्मार्ट किताबमार्फत अध्यापन गराउन थालिएको बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले बताए ।

उक्त प्रविधिलाई बोल्ने कमल पनि भनेर बुझ्ने गरिन्छ । बोल्ने कलमले स्मार्ट किताबको अक्षरमा छुवाउँदा शुद्धसँग बुझ्ने गरी पढाउँछ । यो प्रविधिमार्फत विद्यार्थीलाई अंग्रेजी शुद्धसँग उच्चारण गराउन र पढाइप्रति आकर्षित गराउन शिक्षकलाई समेत सहज हुने बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।

यो प्रविधिको पढाइले सामुदायिक विद्यालयमा देखिँदै आएको अङ्ग्रेजी भाषासम्बन्धी समस्यासमेत न्यूनीकरण हुने उनको तर्क छ ।

विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढाएको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने छ भने ‘स्पेलिङ इरर’ र उच्चारणको समस्या समाधान हुने भएकाले शिक्षकलाई पनि सजिलो हुने जनाइएको छ । सेतो रङको डल्फिन जस्तो देखिने टकिङ पेनले अक्षर छोएर विद्यार्थीलाई पढाउन सकिन्छ ।

दुई हजार शब्द अंग्रेजी र एकहजार शब्द नेपाली युकेजीमा अध्ययनरत विद्यार्थीले तीन हजार शब्द अंग्रेजी र पन्ध्र सय शब्द नेपालीमा भिडियो र अडियोसहित सिक्न सक्ने क्रियटिभ एडुटेन्मेन्ट वर्ल्डका व्यवस्थापक मोहन राईले बताए ।

विद्यार्थीको पढ्ने सिपको विकास गराउन, सुनाइका आधारमा लेख्न सक्ने बनाउनका लागि यो प्रविधि अन्तर्गत ‘नेपाली’ र ‘अंग्रेजी’ दुवै भाषामा अलग–अलग पाठ्यपुस्तक रहेको राईले जानकारी दिए ।

यसमा कुन भाषामा पढ्ने भन्ने विकल्प भएकाले शिक्षकलाई पनि उपयोगी हुने उनको भनाइ छ । उक्त प्रविधिको विकासले सामुदायिक विद्यालयमा देखिँदै आएको अङ्ग्रेजी भाषासम्बन्धी समस्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो प्रविधिमार्फत विद्यार्थीलाई अङ्ग्रेजी शुद्धसँग उच्चारण गराउन र पढाइप्रति आकर्षित गराउन शिक्षकलाई सहज हुने बर्जु २ का वडाध्यक्ष महेन्द्र प्रसादले बताए ।

यो प्रविधिअन्तर्गत ३ वटा माध्यमिक विद्यालयका बालकक्षाका बालबालिकाका लागि ७६ वटा किताब प्याकेज र ३ वटा टकिङ पेन बर्जु गाउँपालिकाको रामसीता माध्यमिक विद्यालयमा कार्यक्रम गरी त्यससम्बन्धी अभिमूखीकरण कार्यक्रम गरी सम्बन्धित विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरिएको बर्जु गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक हेमराज दाहालले जानकारी दिए ।

कार्यक्रममा बर्जु गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरी, शिक्षा अधिकृत बाबुराम कार्की, विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु