विराटनगर । विराट शिक्षण अस्पतालको करिब ५८ लाख रूपैयाँ घोटाला भएको खुलेपछि १० जना कर्मचारीमाथि अनुसन्धान अघि बढाइएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको अस्पतालका कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अनियमितताको आरोपमा अस्पतालको बिलिङ तथा डिस्चार्ज काउन्टर र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अस्पतालले दिएको किटानी जाहेरीका आधारमा अनियमिततामा मुछिएका कर्मचारीलाई पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीले सुरुमा गत कात्तिक ३ गते बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बूढीगंगा–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि अनुसन्धान अघि बढाउँदा रकम घोटालामा अरु ८ जना कर्मचारी पनि संलग्न रहेको खुलेको हो । त्यसपछि प्रहरीले अरु कर्मचारीहरु मोरङको बूढीगंगाका २८ वर्षीय सुनील पासवान, दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, ग्रामथानका २३ वर्षीय नरनारायण चौधरी र सप्तरी कन्चनपुरका २३ वर्षीय वसन्तकुमार रामलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ ।

डीएसपी कार्कीले २ जनालाई कात्तिक ३ गते र अरु ८ जनालाई गत शुक्रबार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

कार्कीका अनुसार पक्राउ परेकाहरुले अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।

अस्पतालका अनुसार पक्राउ परेकाहरुले नक्कली कारोबार गर्दै वास्तविक बिरामीको खाताबाट धरौटीवापतको रकम फिर्ता लगेर र नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रूपैयाँ छुट देखाएर रकम घोटाला गरेको जानकारी अस्पतालले दिएको छ ।

रकम हिनामिनाका सम्बन्धमा छलफल गर्न अस्पताल सञ्चालक समितिको बैठक गत कात्तिक ३ गते बसेको थियो । बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गर्यो । कर्मचारीकै मिलेमतोमा अनियमितता गरिएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए ।

अस्पतालको आन्तरिक छानबिन र प्रहरीको हालसम्मको अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ घोटाला गरिएको पत्ता लागेको हो । अस्पतालले सुरुमा ५ करोड रूपैयाँ हिनामिना भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएको थियो ।

‘हिनामिना गरिएको रकम बढ्न सक्छ । यसमा अरु कर्मचारी पनि संलग्न रहेको हुनसक्ने आशंका छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अस्पतालले पनि आन्तरिक हिसाबको छानबिन गरिरहेको छ ।’

रकम हिनामिनामा संलग्न कर्मचारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले बताए । उनका अनुसार अस्पतालका तर्फबाट जाहेरी परेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो । थप कुरा प्रहरीको अनुसन्धानपछि पत्ता लाग्ने जानकारी निरौलाले दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु