विराटनगर । नागरिकता विधेयक पास नहुँदा नागरिक योग्य सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नुपरेको पीडा पोखेका छन् ।
चुनाव प्रचार प्रसारका क्रममा विराटनगर ११ पुगेका नेपाली कांग्रेसका नेता एवं मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालासमक्ष स्थानीयले नागरिकता पाउन नसक्नुको पीडा पोखे ।
सर्वसाधारणको प्रश्नमा कोइरालाले राष्ट्रपपतिले संविधान नमान्दा नागरिकता विधेयक पारित हुन नसकेको जवाफ दिएका थिए ।विराटनगर ११ को चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पारित नगरेर राष्ट्रपपतिले संविधान उल्लंघन गरेको आरोप लगाए ।
मंसिर ४ को निर्वाचनपछि बन्ने यो गठबन्धन सरकारले नागरिकता विधेयक पारित गर्ने पनि उनले दाबी गरे । ‘मैले जितेँ भने सदनमा पुगेर नागरिकता विधेयक पारित गराउन सहयोग गर्छु’ उनले भने ।
विराटनगर ११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए ।
बस्तीलाई डुबानमुक्त पार्न सिंघिया खोलाको तटबन्ध बनाउने प्रतिबद्धता कोइरालाले गरेका थिए । ‘दुहबीदेखि रानीसम्म सिंघिया खोलाको तटबन्ध बनाउनेछौं’ उनले भने, ‘यसका लागि विस्तृत परियोजना प्रतिवेदन बनिसकेको छ, अब ठेक्क लाग्न मात्र बाँकी छ ।’