प्रतीकात्मक तस्बिर

विराटनगर । झापाका आमोद सिटौलाले विराटनगर महानगरपालिका–५ मा १५ कट्ठा जग्गा लिजमा लिएका छन् । जग्गाको भाडावापत बार्षिक ३७ हजार रूपैयाँ तिर्दै छन् ।

त्यही जग्गामा एउटा झुप्रो घर बनाएर परिवारसहित बसेका छन् । झापाको बिर्तामोड नगरपालिका–७ घर भएका सिटौला दम्पती विराटनगरमा ९ वर्षदेखि खेती गर्दै आइरहेका हुन् । गाई र बाख्रा पालन गरेका छन् ।

तरकारी र दूध बेचेर भएको आम्दानीले जग्गाको भाडा तिरेर जीविका चलाउँछन् । सिटौलाका ३ वटा जर्सी गाई थिए । दुईवटा दुहुना गाई थिए । एउटा मंसिरमा ब्याउँदै छ । गाई तिहारका दिन गत कात्तिक ८ गते दिउँसोदेखि २ वटा गाई बिरामी परे ।

पेट ढाडिएर र पखाला पनि लागेपछि ढलेका गाई उठ्न सकेनन् । दिनको १० लिटरजति दूध दिने दुहुनो गाई शुक्रबार मर्यो । ब्याउन लागेको गाई ढलेकोढल्यै छ । त्यो उठ्छ कि उठ्दैन भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

दूध दिँदै गरेको गाई मरेपछि उनलाई ७५ हजार रूपैयाँजति नोक्सानी भएको छ । त्यो गाईको दूध बेचेर दिनको ८ सय रूपैयाँभन्दा बढी कमाई हुन्थ्यो । ‘गाई बेच्दा ७५ हजार रूपैयाँजति आउँथ्यो,’ उनले भने, ‘दूध बेचेर दिनको ८ सय रूपैयाँजति कमाई हुन्थ्यो ।’

आर्थिक अवस्था कमजोर भएका सिटौला दुहुनो गाई मरेपछि ठूलो नोक्सानी भएको बताउँछन् । ‘गाईको दूध बेचेर जीविका चलाउँदै थियौं । मरेपछि समस्या भयो,’ उनले भने, ‘गाई त मर्यो । अब कसरी परिवार चलाउनु होला भन्ने पीडाले सताइरहेको छ ।’

सिटौलाका अनुसार २ वटै गाईलाई घरदेखि अलि पर लगेर खुला ठाउँमा बाँधिएको थियो । ‘गाई तिहारका दिन धेरै जनाले पूजा गरेछन् । एकैपटक धेरै खानेकुरा दिएछन् । रोटी, पिठो लगायत चिल्लो प्रयोग गरेर बनाइएका परिकारहरु गाईलाई खुवाएछन्,’ उनले भने, ‘मैले त्यसतर्फ ध्यान दिनै पाइँन । हुन त श्रद्धाले गरिने पूजालाई रोक लगाउने कुरा पनि भएन । धेरै खानेकुरा दिँदा गाई बिरामी पर्छन् भन्ने मलाईसमेत थाहा थिएन ।’

तिहारमा पूजा गरेपछि बिरामी परेर ढलेकामध्ये एउटा मरेको र अर्को उठ्न नसकेको उनको भनाइ छ । ‘गाईको उपचारमा ७ हजारभन्दा बढी खर्च भयो । पशु प्राविधिकले स्लाइन पनि चढाइदिए र औषधि दिए,’ सिटौलाले भने, ‘उपचार गर्दागर्दै एउटालाई बचाउन सकिएन । अर्को पनि के हुने हो थाहा छैन ।’ चिल्लो पदार्थ मिसाएर बनाइएका खानेकुराले गाईलाई ‘फुड पोइजन’ भएको जानकारी उनले पशु प्राविधिकबाट पाए ।

पशु प्राविधिक गणेश पौडेल चिल्लो मिसिएका खानेकुराले पशु चौपायालाई ‘फुड पोइजन’ हुने बताउँछन् । ‘भोज भतेरमा चिल्लोचाप्लो खान दिने गरिन्छ । चाडपर्वमा रोटी पकाएर खुवाउने गर्ने गरिन्छ,’ उनले भने, ‘यस्ता खानेकुरा धेरै खुवाउँदा अपच हुन्छ । पचाउन नसकेर गाईहरु बिरामी परेका हुन् ।’

नियमित दाना, पानी र घाँस मात्रै खुवाइएका पशुलाई चिल्लो मिसाएर बनाइएका परिकार धेरै दिँदा यस्तो समस्या आउने पौडेलले बताए ।

सिकिस्त अवस्थामा रहेको गाई । अर्को गाई पूजाको प्रसाद खाएर अपच भएपछि बिरामी परेर मरेको थियो ।

विशेष गरेर छाडा भन्दा पनि बाँधेर राखिएका पशुमा चिल्लो खानेकुराले धेरै समस्या पार्ने उनको भनाइ छ । ‘दाना, पानी र घाँस जति दिँदा पनि हुन्छ । तर सेल रोटी, पुलाउ, पिठो, तेलमा तारेका खानेकुरा लगायत विभिन्न परिकार एकैपटक धेरै दिँदा पशुले पचाउन सक्दैनन्,’ उनले भने, ‘चिल्लोचाप्लो मिसाइएका र बासी तथा सडेगलेका खानेकुराले असर गर्छ । पुज्ने क्रममा धेरै खाना दिएका कारण गाईको स्वास्थ्यमा समस्या भएको हो ।’

अपच हुने खालका खानेकुरा दिएर पशु चौपाया बिरामी परेका घटना धेरै आउने गरेको पौडेल बताउँछन् ।

‘पशुको पाचन शक्तिलाई ख्याल गरेर खुवाउनुपर्छ । खानेकुरा दिँदा बिचार पुर्याउनुपर्छ । नत्र क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ,’ उनी भन्छन्, ‘कतिपयलाई उपचार गरेर बचाउन पनि सकिन्छ । कतिपय औषधि दिँदादिँदै पनि मर्छन । पशुको खान्कीमा बिचार गर्नु उत्तम हुन्छ ।’ सादा खानेकुरा दिने गरिएका पशुमा चिल्लो मिसाइएका खानेकुरा पचाउने क्षमता कमजोर हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु