अस्ट्रेलिया । नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएसँगै आइसिसी टी२० विश्वकपबाट दक्षिण अफ्रिका बाहिरिएकाे छ ।
सुपर १२ को समूह ‘बी’ अन्तर्गत आज भएकाे खेलमा दक्षिण अफ्रिका पराजित भएसँगै पाकिस्तान र बंग्लादेशकाे सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेकाे छ ।
दक्षिण अफ्रिका पराजित भएसँगै भारत एक खेल बाँकी हुँदै सेमिफाइनलमा पुगेको छ । भारत ४ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो र चौथो स्थानको पाकिस्तान र बंगलादेशको समान ४ अंक छ । यी दुई टोली आज हुने खेलमा आमने सामने हुँदैछन् । भारत एक खेल अगावै विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा उपविजेताका दौडमा बंगलादेश र पाकिस्तान रहेका छन् । यो खेल जित्ने टोली अन्तिम चारमा प्रवेश गर्नेछ ।
एडेलेडमा सम्पन्न आजकाे खेलमा टस जित्दै दक्षिण अफ्रिकाले पहिले फिल्डिङ राेजेकाे थियाे । ब्याटिङकाे निम्ताे नेदरल्यान्ड्ले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ५८ रन बनाएकाे थियाे ।
नेदरल्यान्डका लागि कोलिन एकरम्यानले सर्वाधिक ४१ रनकाे पारी खेल्दा दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ विकेट लिँदै नेदरल्यान्डलाई राेक्ने प्रयास गरेका थिए ।
एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रनमा समेटिदै टी२० विश्वकपबाट बाहिरियाे । दक्षिण अफ्रिकाका राइली रोसोले सर्वाधिक २५, कप्तान टेम्बा बभुमाले २० र हेनरिक क्लासेनले २१ रन जोडे पनि नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले ३, फेड क्लासेनले २ तथा पाउल भान मिकेरिन र बास डीले समान १-१ विकेट लिँदै दक्षिण अफ्रिकालाई हार चखाए ।
टी२० विश्वकप सुपर १२ अन्तर्गत समूह ‘बी’मा एक खेल मात्र जितेकाे जिम्बाब्वे २ अंकसहित अंकतालिकामा पुछारमा छ । विश्वकप यात्रामा पूर्णविराम लागे पनि उसले अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
टी२० विश्वकप सुपर १२ अन्तर्गत समूह ‘ए’बाट न्यूजिल्यान्ड र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । अंकतालिकाकाे शीर्ष स्थानमा रहेकाे न्यूजिल्यान्ड, दाेस्राे स्थानकाे इंग्ल्यान्ड र तेस्राे स्थानकाे आयाेजक अस्ट्रेलियाकाे समान सात अंक भएपनि नेट रन रेटमा पछि पर्दा अस्ट्रलिया प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।