‘जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य जयराम यादव मोरङको क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री समेत रहेका यादव आफूले निर्वाचनमा विजय हासिल गर्ने दाबी गर्छन् ।

यसअघि संघीय संसदमा प्रतिनिधित्व गर्दै आएका उनी गत निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । प्रस्तुत छ, चुनावी अभियानमा सक्रिय बनेका यादवसँग एएमजी टाइम्सले गरेको कुराकानीको सम्पादित अंशः

चुनाव कत्तिको लाग्दै छ ?

स्वाभाविक हो एउटा धार्मिक गतिविधिको क्षेत्रका मानिसलाई धार्मिक गतिविधिले फरक पर्दा छ भने हामी एउटा राजनैतिक क्षेत्रमा लागेका व्यक्तिहरुलाई यो चुनाव लाग्नु स्वाभाविक हो । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि म व्यक्तिगत रुपमा र हाम्रो पार्टी यो संघीयता पहिचान, समावेशी पक्षधर हौं ।

हामी एउटा गणतन्त्र पक्षधर भएकाले लोकतन्त्र बलियो हुनुपर्छ र निर्धारित समय चुनाव पनि हुनुपर्छ तथा निर्धारित समयमै चुनाव भइरहेको हुनाले एउटा राजैतिककर्मीको हिसाबले हामी निकै खुसी छौं । अहिले हामी चुनावी प्रतिस्पर्धामा लागेका छौं ।

निर्वाचन आयोगले जारीको आचारसहिंताभित्र रहेर भेटघाटलगायतका कार्यक्रम गरिरहेका छौं । एकतर्फ निर्वाचनको गतिविधिमा संलग्न हुँदै प्रदेशको मन्त्री भएकाले दुवै जिम्मेवारी वहन गरिरहेको छु ।

अरु दलसँग तालमेल कस्तो छ ?

स्थानीय तहको निर्वाचन हुँदा हाम्रो ५ दलीय गठबन्धन अन्य पार्टीहरुसँग थियो भने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्थानीय तहको निर्वाचनमा जुन किसिमको धोका र अन्तर्गतघात भए ।

त्यो सम्पूर्ण कुराहरुका बावजुद पनि अहिले हुन लागेको चुनावमा पनि अघिल्लै गठबन्धनलाई मिलाएर लानुपर्छ भन्ने हाम्रो पार्टीको धारण थियो ।

त्यो कुरामा पनि अहिलका राजनैतिक दलहरु त्यत्ति इमान्दार नभएर जनता समाजवादी पार्टीलाई पाखा लगाउने गरी सिट संख्याको बाँडफाँटका गरिएको हुँदा सत्ता गठबन्धनबाट अलग भएको हो । यो निर्वाचनमा प्रतिपक्ष भनिएको नेकपा एमालेसँग हाम्रो पार्टीलगायतका केही दलहरु मिलेर विपक्षी गठबन्धन बनेको छ ।

तपाईंको मुख्य एजेण्डा के हुन् ?

हाम्रो एजेण्डा प्रष्ट छ । २०७२ सालमा जारी भएको संविधान पनि अहिले आम नेपाली जनता भौगोलिक रुपमा हिमाल, पहाड, तराई मधेस र देशको पनि क्लस्टरको हिसाबले पनि खस आर्य जसलाई हामी भन्छौं आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारुलगायत ती सम्पूर्ण क्लस्टहरुको पनि संविधानले अहिलेसम्म सम्बोधन गरिसकेको छैन ।

त्यही भएर हामी सबै मिलेर संविधानमा केही कुरा संशोधन गर्नुपर्ने छ । विकासका कुरा छँदै छ भने राजनैतिक अस्थिरताका कुरा पनि छ । एजेण्डामा राजनैतिक कुरा गर्ने हो भने हाम्रो पार्टीको खास कुरा गर्ने हो भने मधेसी जनअधिकार फोराम नेपाल र मधेस आन्दोलनबाट स्थापित भएको हो ।

हिजोअस्तिसम्म क्षेत्रीय पार्टी, सम्प्रादायिक पार्टीलगायत विभिन्न आरोपप्रत्यारोप लगाए । पछिल्लो समय हामीले विभिन्न क्रम पार गर्दै आएर अहिले जनता समाजवादी पार्टी (जसपा)बनाउन सफल भएका छौं । हिमालदेखि तराई मधेससम्मको भूगोलमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा पार्टी बनाउने अभियानमा जसपा अगाडि बढेको छ ।

उत्पीडित राष्ट्रियताहरुको अहिले पनि अधिकार र पहिचान दिलाउन बाँकी रहेको मुद्दामा हामी लागी परेका छौं । अहिले पनि हाम्रो पार्टीको मूल एजेण्डा भनेको संविधानमा पाउनु पर्ने अधिकारहरुबाट वञ्चित पारिएका उत्पीडित राष्ट्रियता र सबै नेपाली जनताले बराबरी हकअधिकार पाउनु पर्छ । विकास निर्माणका कुरा धेरै छन् ।

टिकट वितरण प्रक्रियामा असन्तुष्टि देखिएको थियो होइन ?

यो स्वाभाविक कुरा हो । किनभने पार्टीभित्र नेता, कार्यकर्ता हामी सबै साथीहरु आफ्नो जीवनको कार्यकाल लगाएका हुन्छौं । ५ वर्षमा एक पटक आउने लोकतन्त्रको पर्वमा सबै साथीहरुले आफूले कार्य गरेको क्षेत्रमा त्यहाँ अवसर पाउनु पर्छ भन्ने उहाँहरुको इच्छा आकांक्षा हुन्छ ।

समयअनुसार गठबन्धनको तालमेलमा जाँदा हाम्रो पार्टीमा मात्रै होइन अन्य सबै पार्टीका साथीहरु पीरमा पर्नु भएको छ । यसको केही असरहरु देखिएको छ । त्यसलाई कसैले पनि नकार्न सक्दैनन् ।

गठबन्धनमा आवद्ध दलसँग प्रतिस्पर्धा कस्तो रहला ?

सातवटै प्रदेशमा भन्ने हो भने तत्कालीन २०७४ को चुनावमा पनि नेकपा एमालेले अन्य दलभन्दा बढी सिट जितेको थियो । उनीहरुको नेतृत्वमा सरकार गठन भयो । अहिलेसम्म यस प्रदेशमा एमालेले नै सबैभन्दा ठूलो दल थियो ।

मोरङ र सुनसरीको केही निर्वाचन क्षेत्रमा उनीहरुसँगै गठबन्धन भएको छ । गठबन्धनमा मोरङको क्षेत्र नम्बर ५ मा जसपाले प्रतिनिधिसभा र प्रदेशसभा २ पाएको छ । क्षेत्र नम्बर ४ (ख) र ६ (ख) मा एमालेसँग गठबन्धन भनिए पनि एमालेबाट उम्मेद्ववारी दर्ता गराएको छ ।

सुनसरीमा प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा हाम्रा पार्टीका अशोक राईको उम्मेद्ववारी परेको भने प्रदेशसभामा तालमेल छ । बाँकी रहेको १४ वटै जिल्लाको निर्वाचन क्षेत्र हामीहरु आ–आफ्नै हिसाबले चुनाव गएका छौं ।

तपाईंको क्षेत्रमा कस्तो छ अवस्था ?

०७४ मा एमाले र माओवादीबीच बाम गठबन्धन भएर उम्मेद्ववारी पर्दा हामी प्रदेश १ मा एक्लै चुनावमा लडेका थियौं । त्यसबेला प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरम मिलेर लडेका थियौं । मेरो निर्वाचन क्षेत्रको कुरा गर्दा तत्कालीन समय बाम गठबन्धनबाट प्रतिनिधिसभामा उनीहरुको जित भएको थियो भने प्रदेशसभाका लागि एक सिट एमालेले र अर्कोतर्फ मैले जितेको थिएँ ।

अहिले हाम्रो गठबन्धन एमालेसँग र ५ नम्बर क्षेत्रमा एमाले पार्टी जसको मजबुद संगठन छ भने मोरङको सबै क्षेत्रभन्दा यस क्षेत्रमा हाम्रो पार्टीको बलियो संगठन र जनआधार भएकाले हाम्रो जित सुनिश्चित छ । प्रतिनिधिसभाका लागि हाम्रो पार्टी जसपाबाट राजकुमार यादव र प्रदेशसभाका लागि १ बाट एमालेका सन्तोष साह र २ बाट म आफैं उम्मेद्ववार भएको छु ।

विगतका प्रतिवद्धता कति पूरा भए ?

अहिले पनि देशमा हाम्रो लडाईं भने बराबरी प्राप्ती नै हो । बाटोघाटो, पुलपुलेसोभन्दा पनि संविधानमै भौगौलिक, लैंगिक, जातीय, धार्मिक आधारमा भएका विभेदहरु छन् । त्यो सबै आम नेपाली जनता बराबरी हुन् भनेर समान दृष्टिकोणले हेर्नुपर्छ ।

विगतको तुलनामा मेरो क्षेत्रमा विकास धेरै भएका छन् । नेपालमा संघीयता आएपछि तीन तहको सरकारबीच समवन्य गरेर पूर्वाधार, शैक्षिक र स्वास्थ्यमा विकासले तीव्रता लिएको छ । मेरो क्षेत्रमा २ वटा मात्रै मावि विद्यालय थिए । मेरो क्षेत्रमा भएका विद्यालयको स्तरोन्नती गर्दै उच्च माविसम्म पठनपाठन हुने व्यवस्था मिलाएको छु ।

मेरो विकासको मुख्य जोड नै शिक्षा क्षेत्र हो । जबसम्म मानिसको चेतना शक्ति अगाडि बढ्दैन भने भौतिक विकास अगाडि बढ्न सक्दैन । भौतिक पूर्वाधारमा विगतभन्दा धेरै नै विकास भएका छन् । मेरो निर्वाचन क्षेत्रको प्रत्येक वडामा एउटा स्वास्थ्य चौकीहरु निर्माण भइरहेको अवस्था छ भने पुराना स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै बर्थिङ सेन्टरको रुपमा पुगेको छ ।

सरकारमा रहेका उम्मेद्ववारले चुनाव प्रभावित पार्छन् भन्ने गरिन्छ नि ?

यो कुरा स्वाभाविक हो । तर, त्यो कुरा व्यक्तिको आचरणमा भर पर्छ । मेरो मान्यता भनेको सिस्टमलाई पछ्याउने हो । अहिले हामी सरकारले होइन निर्वाचनको मिति घोषण भएपछि देशलाई निर्वाचन आयोगले कन्ट्रोल गर्छ ।

निर्वाचन आचारसहिंता भित्र बसेर हामी अगाडि बढेका छौं । कसैले पनि निर्वाचन आचारसहिंता उल्लंघन गर्न हुँदैन । मेरो क्षेत्रमा म वा अरु कसैले आचारसहिंता विरुद्धका गतिविधि गर्छन् भने कानुनी दायरमा ल्याउन भनेको छु ।

तपाईंलाई नै भोट दिनुपर्ने कारण के मान्नुहुन्छ ?

राष्ट्रिय गीतले दिएको सन्देश अनुसार हाम्रो प्रदेशको प्रदेशसभा पनि सबै प्रकारको उपस्थिति हुनुपर्छ । राजनैतिक दलभन्दा पनि हाम्रोलाई होइन राम्रोलाई रोज्नु पर्छ । त्यो राम्रोका लागि मैले मधेस आन्दोलनदेखि अहिलेसम्म देखा परेका भेद्भाव, समावेशी, हकअधिकार र विकासका कुराहरुलाई उदारणका रुपमा लिन सक्नुहुन्छ ।

मैले अहिले आफ्नो कुरा भन्नु भन्दा पनि हेरेर र देखेर थाहा हुन्छ । सबै कुरा आम जनताले महसुस गरिरहेका छन् । आफूलाई मन परेका उम्मेद्ववारलाई यो लोकतन्त्रको पर्वमा घरमा बसेर होइन बढीभन्दा बढी संख्यामा मतदान केन्द्रमा गएर मतदान गरेर लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्नुपर्छ ।

कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर किन हटाउनु भएको ?

हाम्रो संविधानले संघीय, प्रदेश र स्थानीय तह गरी तीन तहको जनप्रतिनिधि र सरकारको परिकल्पना गरेको छ । प्रदेश १ मा राष्ट्रपति कार्यलयको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख हुनुहुन्छ ।  प्रदेशसभाका सदस्यहरुले चयन गरेका मुख्यमन्त्री हुनुहुन्छ । यो प्रदेश सरकारको सम्पूर्ण मन्त्रालयहरुमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राख्नुपर्छ । एकातर्फ हामीलाई संघीय सरकारले हकअधिकार दिएर भन्ने र त्यसको माला जपी रहने मेरो मन र नैतिकताले मानेन । त्यस कारण फोटो परिवर्तन गरेको हुँ ।

तपाईं मुख्यमन्त्रीको आकांक्षी पनि हो ?

मुख्यमन्त्रीको आकांक्षी भन्ने कुरा चुनावपछिको परिणामले भन्छ । म मुख्यमन्त्री भए भने यहाँ ३६ जातको फूलबारी बनाउने प्रयास रहन्छ । काम गर्नका लागि मुख्यमन्त्री, मन्त्री नै बन्नु पर्ने छैन । पद नै नलिई जनताको सेवा गरेर सर्वमान्य नेता भएका छन् । सकारात्मक कामका लागि यो वा त्यो पार्टी नभनी सहयोग गर्न तयार छु ।

विजयी भएपछि के गर्ने योजना छ ?

म जहाँबाट निर्वाचित भएँ । अहिले पनि त्यहाँको मुख्य समस्या भएको पछौटेपन हो । त्यसका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार नै चाहिन्छ । गरिब तथा विपन्न वर्ग, किसानहरु बढी बसोबास गर्ने भएकाले खानपानमा कमी हुँदा कुपोषण र स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ ।

खुला सीमा क्षेत्र भएकाले मानिसहरु सहज आवतजावत गर्ने हुँदा पनि रोगका संक्रमण फैलिने डर र भये हुँदा त्यसका लागि पनि काम गर्नुपर्ने हुन्छ । प्रदेशका ११ जिल्लामा भन्दा बढी जनसंख्या झापा, सुनसरी र मोरङमा रहेका छन् ।

आन्तरिक बसाइसराई बढी रहेको छ । यसलाई रोक्नका लागि प्रदेश सरकारअन्तर्गतका हिमाल र पहाडी जिल्लाका अस्पताललाई सबल र आत्मनिर्भर बनाउँदै । त्यस अस्पतालमा जनशक्ति बढाएर सेवासुविधा दिनका लागि स्वास्थ्यमन्त्री हैसियतले काम गरे ।

चिकित्सक र स्वास्थ्यकर्मी तराई मधेसका ३ जिल्लामा मात्रै बस्न चाहन्थे । उनीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नुका साथै पहाडी क्षेत्रका जिल्लामा बेड संख्यामा वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु