चीनका राष्ट्रपति सी जिनपिङ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् ।
बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले यस्तो आह्वान गरेकोे चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भनेका छन् ।
युक्रेन युद्धको परिप्रेक्षमा आणविक युद्धको सम्भावना निकै बढेका सन्दर्भमा सीको यो भनाई आएको हो । आठ महिनादेखि जारी युक्रेन युद्धमा हार्ने अवस्थामा रुसले आणविक आक्रमण गर्न सक्ने डर छ ।
मस्कोले युक्रेनसँगको युद्धमा कुनै पनि रासायनिक, जैविक वा आणविक हतियार प्रयोग गरेमा ‘गम्भीर नतिजा’ भोग्ने विश्वका सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ ले शुक्रबार चेतावनी दिएको छ ।
नाटोले गत अक्टोबरमा आणविक आक्रमणको परिदृश्यमा कसरी सामना गर्ने भन्ने हिसाबले युद्धाभ्यास गर्यो । त्यसअघि रुसले पन त्यस्तै सैन्य अभ्यास गरेको थियो तर दुवैले त्यसलाई नियमित अभ्यास भनेका छन् ।
पुटिनले गत सेप्टेम्बर महिनामा नेटोबाट आफ्नो भूमिमाथि जोखिम आइपरे आणविक हतियारहरू प्रयोग गर्ने धम्की दिँदै आफूले ठट्टा नगरेको बताएका थिए । त्यस समय उनले नेटो राष्ट्रले रुसलाई ‘नष्ट’ पार्ने योजना बनाएको आरोप लगाएका थिए ।
मस्कोले पछि परमाणु हतियार प्रयोग गर्ने खतरालाई अस्वीकार गदै अमेरिका र नाटोसँगको टकराव क्रेमलिनको हितमा नभएको बताएको थियो ।
रुसी नेताले गत हप्ता युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने मस्कोको कुनै मनसाय नभएको बताएका थिए । ‘हामी त्यसको आवश्यकता नै देख्दैनौं,’ पुटिनले केहीअघि मात्र भनेका थिए ।