काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने’ बताएका छन् । उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले शनिबार भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ, कि लड्नुपर्‍यो बन्दुक ल्याउनुहोला । होइन भने कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषणमा त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिन सक्छौँ ।’

यसैगरी उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने बताए । उनले आफू पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको पनि बताए ।

डडेल्धुरासँगै समग्र सुदूरपश्चिमको विकासका लागि आफू लागिरहेको बताउँदै प्रधानमन्त्री देउवाले बोल्नु भन्दा पनि काम गरेर देखाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवा बिहीवारदेखि जिल्लाका विभिन्न ठाउँमा भइरहेका चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरामा छन् ।

एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुलबाट चुनावी अभियानको थाली गर्दै चुनावपछि आफ्नो नेतृत्वमा बन्ने सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउने बताएका थिए ।

42
Shares
१९ कार्तिक २०७९, शनिबार २२:०२