मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले निराश बनाउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफसँग स्तब्ध हुँदै पोखरा भने प्रतियोगिताबाट बिदा भएको छ ।
टाइब्रेकरमा एपीएफका तर्फबाट सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दिपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । पोखराका दिपेश आलेमगर, सरोज योन्जन, जय गुरुङ र अजित भण्डारीको प्रहार मात्रै गोलमा परिणत भयो । आशिष गुरुङको प्रहारमा एपीएफका गोलरक्षक राजु नगरकोटी बाधक बनिदिएपछि खेलको नतिजा पोखराको पक्षमा परेन ।निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । नवीन लामाले २३ औँ मिनेटमा गोलको खाता खोल्दै एपीएफलाई अग्रता दिलाउँदा पोखरा दबाबमा पर्यो । करिब २५ यार्ड टाढाबाट उनले गरेको फ्रिकिक प्रहारले पोस्टको बाटो तय गर्दा पोखराका गोलरक्षक टेकेन्द्र थापा अलमलमा परे ।
तर एपीएफले अग्रतालाई १५ मिनेटसम्म पनि जोगाउन सकेन । एपीएफको अग्रता तोड्दै दिपेश आलेमगरले गोल गरेर पोखरालाई खेलमा फर्काए । आशिष गुरुङले ४० औँ मिनेटमा दिएको हेड पासलाई सदुपयोग गर्दै दिपेशले हेडमार्फत नै आकर्षक गोल गरेका हुन् ।खेलको पहिलो हाफ १-१ को बराबरीमा सकियो । मध्यान्तरपछि पनि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरबाट छिनोफानो हुँदा एपीएफ भाग्यमानी ठहरियो ।
पोखराले खेललाई आफ्नो नियन्त्रणमा राखेर उत्कृष्ट प्रदर्शन गरेको थियो । तर नतिजा विपक्षीको पोल्टामा पर्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । आकर्षक प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखे पनि फिनिसिङ फितलो हुनु पोखराको हारको मुख्य कारण बन्यो ।
सन्तराम गुरुङ २७ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा चुक्नुले पनि पोखरालाई धक्का लाग्यो । उनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट ढंगले विफल पारिदिए ।
नगरकोटी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार आइतबार भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङ र धनकुटाको राजारानी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।