विराटनगर । नेकपा (एमाले) का नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले मंसिर ४ गते ‘गठबन्धन नामको लुतो फाल्ने दिन’ भएको बताएका छन् ।

हिसान मोरङ र विराटनगर प्याब्सनले शनिबार आयोजना गरेको शिक्षासेवीहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘साधारण भाषामा भन्ने हो भने गठबन्धन नेपाली जनताको लुतो हो’ उनले भने ‘हामीले वर्षमा एक दिन फालेझैं मंसिर ४ मा पनि यो लुतो फाल्ने हो ।’

ब्यक्तिगत महत्वकांक्षा पूरा गर्ने उद्देश्यले गाँठागुठी जोडिएर गठबन्धन भएको उनले टिप्पणी गरे । निर्वाचनअघि नै २ वर्ष शेरबहादुर देउवा २ वर्ष प्रचण्ड र १ वर्ष माधवकुमार नेपालले सरकार चलाउने सम्झौता भएको कुरा बाहिर सार्वजनिक भएको भन्दै उनले अहिले नै अस्थीर राजनीतिको कुरा गर्नेहरुलाई फेरि पनि जिताउने हो भने मुलुक र जनताको भविष्य अन्धकारतिर धकेलिने बताए ।

मोरङ ६ (क) की प्रदेससभा सदस्य उमेदवार रिता न्यौपानेले स्थानीय जनताका सुझावका आधारमा वर्गीकरण गर्दै जनताको हितमा समर्पित रहने बताइन् । ६ (ख) का उम्मेदवार पर्शुराम बस्नेतले युवा पुस्ताको प्रतिनिधित्व आफूले गरेको भन्दै त्यसैले आफूलाई गल्ति गर्ने छुट नभएको बताए । उनले विराटनगरले शैक्षिक क्षेत्रमा देशकै ध्यान आकृष्ट पार्ने गरी योगदान गरेको भन्दै चर्चा गरे ।

प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीले समग्र देशको द्रुततर विकास चाहने हामीले स्थायी सरकारको पक्षमा लाग्नुपर्ने बताए । उनले गठबन्धन भन्नासाथ अस्थायी सरकार भन्ने बुझ्नुपर्ने भन्दै उनले टालाटुली बाटुलीझैँ खेलौनाको रुपमा देशको भविष्यलाई लैजान नहुने बताए ।

दलहरुले हिजो गरेका गल्तीहरुलाई सुधार्दै सन्तानको लागि पनि एउटा पार्टीको स्थायी सरकारको पक्षमा बौद्धिक जगत लाग्नुपर्ने जिकिर उनले गरे । पुरीले भने, यतिबेला एकल सरकार दिन सक्ने एमाले मात्रै देखिएको छ ।’

35
Shares
१९ कार्तिक २०७९, शनिबार १५:०६