खडानन्द र साथी ।
खडानन्द– यसो आउ न हौ कहिलेकाहीँ फ्री टाइममा के गर्छौ ?
साथी– मोबाइल चार्ज गर्छु ।
खडानन्द– अनि फ्री चाहिँ कहिले हुन्छौ नि ?
साथी– मोबाइलको ब्याट्रीको चार्ज सकिएपछि ।
***
खडानन्द नेपाल बैंक लिमिटेडको शाखामा गए ।
खडानन्द– सर, मेरी पत्नी राति घरबाट भागी ।
बैंक कर्मचारी– हजुर, अनि यो प्रहरी चौकी हैन, बैंक पो हो त ।
खडानन्द– म बैंकमै आको हजुर पैसो निकाल्न, भरे पार्टी गर्नु छ ।
***
मत्थु खडानन्दलाई जाँचिसकेपछि–
डाक्टर– तपाईंको कलेजो फुलेको छ ।
खडानन्द– हँ ? …भनेपछि अझ धेरै रक्सी अट्ने भो हैन त डाग्डर साब ?
***
हाँडी जस्तै काला खडानन्द ससुराली गए ।
सासु– ज्वाइँ, अब १ महिना जति यतै बस्नुस । दूध, दही खानुस्, आरामले बस्नुस् ।
खडानन्द– हैन आमा, एक्कासि यो माया ममता कताबाट बर्सियो आज ?
सासु– माया मोह केही पनि हैन हाँडीघोप्टे ज्वाइँ । भैंसी ब्याउने बित्तिकै पाडो मर्यो, तपाईंलाई देखेर दूध दिन बानी पर्छ कि अलिक दिनमा भनेर नि ।
***
खडानन्दको किराना पसल थियो त्यो बेला ।
एकजना ग्राहककी छोरीको बिहेमा खडानन्दलाई निम्तो आयो । खडानन्द बिहेमा गए । सबैले जस्तै खडानन्दले पनि एउटा बन्द खाम दिएर फर्किए ।
भोलिपल्ट खाम खोल्दै जाँदा खडानन्दले दिएको खाममा पैसा हैन, एउटा पर्ची भेटियो ।
जसमा लेखिएको थियो–
दोकानको बाँकी– रु. ३,५४७
बिहेमा दान– रु. १०५
अब दोकानको बाँकी– रु. ३,४४२
(संकलनः जीवन भट्टराई)