“निकै दिन भो पिङ्गलाले फोन गरिन । हरेक शनिबार बिहान आठ बजे फोन आउँथ्यो । पहिलो शनिबार आएन, मैले परीक्षाको तयारी गर्दै होली, त्यसैले गरिन भन्ने ठानें ।

दोस्रो शनिबार म आफ्नै गोरखधन्दामा लागें, भुलेंछु ! तेस्रो शुक्रबार साँझ सम्झेको थिएँ, भोलि बिहान गर्ली भन्ने भो, सुतें । त्यो बिहान पनि गरिन, मैले नै त्यो साँझ गरें, बोलिन, रोइ मात्र रही ।”

“हुर्केकी छोरीको बाबु हुँ, गाह्रो छ सर” पदमनाथ यति बोले र लामो सुस्केरा हाले । शिकागो बुल्स लेखेको क्याप टोपीले मुख पुछे । मुख पुछे पनि के भन्नु ? आँशु लुकाए नै !

पिङ्गलाले तीनवटा सुसाइड नोट लेखेकी रहिछे !

पहिलो-

“बाबा, तपाईंले त भन्नु भएकै हो पहिले पढ नानी, अनि प्रेमका कुरा, बिहेका कुरा । मैले त प्रेम पनि व्यक्तिसँग होइन उसको सीप, सौर्य र सम्मानलाई गरेकी थिएँ। बाबा, म चाहन्न मेरा कारण तपाईंलाई समाजले नखर्माउली भनोस्, म मर्दैछु बाबा !”

दोस्रो-

“बाबाले पठाएको पैसा जोगाएर बहिनीलाई दसैँमा एक जोडी सलवार कुर्था ल्याइदिन्छु भनेर पैसा जोगाएकी छु, मलाई लाउन खान रहर पनि होइन । तर देशकै गहनाले कर गरी गरी घुम्न डाक्यो, म गएँ, मेरो ठूलो गल्ती त्यहीँनेर भयो !”

तेस्रो–

“समाज खराब छ । एउटी नाबालिग यौन प्रताडना खपेर गुपचुप आत्महत्या गरेर मरी भने समाज उसैलाई लबस्तरी करार गर्छ र भन्छ– उसैको गल्ती थियो र त आत्महत्या गरी ! एउटी चेली आत्महत्या भन्दा कठोर कदम उठाउँछे र भन्छे– मलाई त्यसले लुछ्यो । समाज उसैलाई लबस्तरी करार गर्छ र भन्छ– गल्ती उसैको थियो र गइ नि लठारिन ! किन गइ रे त नाठो खोज्दै ? छोरी हुनु गाह्रो छ बाबा ! समाजै खराब छ !”

तर नमर्ने भइछ ! र भनी– मैले जे निर्णय गरें, त्यसैमा अब अडिन्छु । मलाई एक मुठी मुसा मार्ने औषधि खाएर एकैबाजी लबस्तरी मर्नुभन्दा यही समाजमा पटक पटक वेश्या कहिएर बाँच्नु मन्जुर छ किनभने म निर्दोष छु । र छोरो नभएकोमा गुनासो गर्नु हुन्थ्यो नि बाबा, अब म बन्छु हजुरको छोरो !

म बन्छु सेलिब्रेटी ! एक मन त लाग्छ एउटा बालकलाई होटेल लैजान्छु, खुवाउँछु, पिलाउँछु, मेरा अङ्ग अङ्गमा नाच्न, उफ्रिन बाध्य बनाउँछु ! जब ऊ मानसिक प्रताडनाबाट निस्कन्छ र भन्छ– मलाई पिङ्गलाले बलात्कार गरी, म एक हुल यु ट्युबे, ट्यापे र संबेदना निख्रिएका रजहीन आमा समूह खोज्छु र बोल्न लगाउँछु– तेरो बालक छोरो नै अपराधी, किन गएको त त्यो कुलटासँग होटल होटल चहार्न ? तेरो छोरोलाई आफ्नो उमेर थाहा थिएन ? तर म त्यो गर्दिन बाबा !

पिङ्गला त्यसपछि मसँग बोलेकी छैन! मैले पिङ्गलालाई सम्झाउन सकेको छुइन ! पदमनाथले फेरि शिकागो बुल्सको क्याप खोले, अनुहार छोपे !

म मनोचिकित्सक मात्र होइन, एउटी नाबालिग छोरीको बाउ पनि हुँ । लाग्छ, समाजले मलाई एउटी चोखो ‘माल’ को वैधानिक चौकीदार मानेको छ !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु