गगन नुनिया
विराटनगर । छठ मनाउने क्रममा विराटनगरको केसलिया खोला आसपास एवं नहर र जलायशहरुमा प्रयोग गरिएको केराको थम्बा र अरु सामग्री सफाइ नगरिँदा फोहोर भएको छ ।
सूर्य उपासनाको पर्व छठ मनाउने क्रममा ब्रतालु र श्रद्धालु भक्तजनहरुले पूजा आराधना गर्नका लागि केराको थम्बा र अरु सामग्री प्रयोग गरी पूजास्थल बनाएका थिए ।
गत आइतबार अस्ताउँदो सूर्यको पूजा गरिएको थियो भने सोमबार बिहान पूजा गरी उदाउँदो सूर्यर्ला अर्घ्य दिएपछि छठ पर्व समापन भएको थियो ।
पूजा विधि सकेर सबैजना फर्किएका थिए । तर पूजा स्थलमा राखिएका सामग्री, सजावट गरिएका विभिन्न बस्तुहरु त्यहीँ अव्यवस्थित रुपमा छरपस्ट देखिएको छ ।
विराटनगर महानगरपालिकाको त्यस्तो क्षेत्रमा सफाइ गरी व्यवस्थापन नगर्ने भएको छ । पूजा गरिनुअघि भने महानगरले ती स्थानहरुको सफाइ गरेको थियो ।
बखरी नहरमा मनाइएको छठ पर्वपछि केराको थम्बा जस्ताको त्यस्तै छ । नहरमा रहेको फलामै पुलको उत्तरतर्फका हरेक घाटमा सफा कतिपय स्थानीयले आफैं सफाइ गरेका छन् ।
उनीहरुले पूजा सकिएपछि केराको थम्बा र अरु सामग्रीहरु ट्याक्टरमा राखेर उपयुक्त स्थानमा व्यवस्थापन गरेका थिए ।
उक्त पुलको दक्षिणतर्फ भने केराको थम्बा जस्ताको त्यस्तै अवस्थामा देखिन्छ । स्थानीय अजय श्रेष्ठले पुलको उत्तरतर्फ सफा गरिएको भए पनि दक्षिणतर्फ त्यसो हुन नसकेको बताए ।
यस्तो काममा कसैले करकाप गर्नुपर्ने नभइ आफैंले जिम्मेवार भएर सफाइ गर्नुपर्ने उनको भनाइ छ ।
छठ मनाउनका लागि कोसीको नहरको पानी उक्त स्थानमा छाडिने गरिएको छ । महानगरपालिकाको वातावरण शाखाका प्रमुख राजेन्द्र प्रधानका अनुसार छठको निम्ति पूजाअघि घाट क्षेत्रको सफाइ गरिएको बताए ।
फोहर व्यवस्थापन गर्ने साझेदार संस्थाहरुले सफाइमा ध्यान दिनुपर्ने उनले बताए । पर्वमा सर्वसाधारणले प्रयोग गरेका सामग्रीहरु जताततै अव्यवस्थित रुपमा रहँदा वातावरणमा प्रतिकूल असर पर्न सक्ने स्थानीयको भनाइ छ ।
स्थानीय अनुज सहनीले खोला र अरु जलाशय आसपासका फोहर सफाइ नगर्दा वातावरणमा प्रतिकूल असर पर्ने भएकाले सरोकारवाला निकायले यसमा ध्यान दिनुपर्ने बताए ।
(प्रशिक्षार्थी)