दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महाविर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन सुरु भएको हो ।
गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात आविष्कार केन्द्रले गत मंगलवारदेखि कारखानाको सरफाई र मर्मतसम्भार गर्न थालेको छ ।वि.सं. २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएका आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, नयाँ औजार–उपकरणहरुको आविष्कार गर्ने बताएका छन् ।
पुनले सरकारले आविष्कार केन्द्रलाई पूरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको स्पष्ट पारे । हाल कारखानाकाो अवस्था बुझ्ने काम भइरहेको पुनले बताए ।‘कारखाना सञ्चालनका लागि तथ्यांक संकलन भइरहेको छ’ पुनले भने, ‘बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको छ । रिनोभेसनको कम्तिमा १० महिना लाग्छ । सकेसम्म छिटो उत्पादन गर्ने हाम्रो प्रयास हुनेछ ।’
कारखाना सञ्चालनको दोस्रो वर्षबाट किसानहरुलाई आवश्यक पर्ने कृषि औजार उत्पादनमा जोड दिइने आविष्कार केन्द्रले बताएको छ ।
‘सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य हो’ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले थपे, ‘२/३ वर्ष भित्रमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने योजनासहित हामी अघि बढेका छौँ ।’
आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने बताइएको छ । नाफामा लैजानसके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने सहमति भएको केन्द्रले जनाएको छ ।
स्वदेशमै आविष्कार केन्द्र नहुँदा वर्षेनी अर्बौंको कृषि औजार बाहिरी मुलुकबाट आयात भइरहेका छन् ।