देशभरका व्यवसायीहरु विरोधमा उत्रिएका बेला नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले पनि दबावमूलक आन्दोलन गर्ने भएको छ ।
शुक्रबार बसेको कार्यसमितिको बैठकले विरोधका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कात्तिक २३ गते बैंकसँग कुनै पनि कारोबार नगर्ने तथा दुई घण्टा प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गर्ने महासंघले जनाएको छ ।
यसैगरी कात्तिक २५ गते १० बजे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयमा भेला भई प्रदेश १ का मुख्यमन्त्री एवं नेपाल राष्ट्र बैंकमा प्ले कार्ड सहित धर्ना दिइ ज्ञापनपत्र बुझाइने भएको छ ।कात्तिक २८ गते सोमबार नेपाल राष्ट्र बैंकको अव्यावहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा दवाव दिन भेला हुने निर्णय पनि वैठकले गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
जिल्ला नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका अध्यक्षलगायत सम्पूर्ण कार्यस मितिका पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमहरुका अनिवार्य सहभागिता जनाउन महासंघले आग्रह गरेको छ ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले बैंकको ब्याजदर वृद्धिविरूद्धमा कार्यक्रम गर्न मातहतका जिल्ला, नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुलाई निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको नीति तथा बैंक तथा वित्तीय संस्थाले ब्याजदर लगायत अन्य सेवा शुल्कका सम्बन्धमा गरेको निर्णय अविलम्ब सच्याई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरणको निर्माण गर्न दबाब दिनुपरेको उद्योगी व्यवसायीको भनाइ छ ।
निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) ४.४ प्रतिशतभन्दा तल राख्न उनीहरुको माग छ ।
राष्ट्र बैंकका निर्देशनहरूले उद्योग र व्यापारबीच स्पष्ट फरक देख्न नसकेकाले उद्योगहरू पीडित हुनुपर्ने अवस्थाको सिर्जना भएको आरोप पनि उद्योगीको छ ।