काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टाेलिका निलम्बित कप्तान सन्दीप लामिछाने सुन्धारास्थित केन्द्रीय कारागार चलान भएका छन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा पुर्पक्षका लागि लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएकाे हाे ।
थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।
लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।