विराटनगर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर, प्रदेश १ समन्वय समितिको आयोजनामा विराटनगरमा विषयमा साहित्यिक सांस्कृतिक अन्तरक्रिया सम्पन्न भयो ।

कार्यक्रममा भाषाविद्, समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं अनेसास बोर्ड अफ ट्रष्टीका सल्लाहकार डा. खगेन्द्रप्रसाद लुइँटेलले नेपाली भाषा, साहित्य, कला र संस्कृति विश्वब्यापी भएको बताएका थिए ।

उनले भाषा विज्ञानका हिसाबले नेपाली तथा नेपालका अन्य मातृभाषाहरू विशेष महत्वको रहेको उल्लेख गरे । गैरआवासीय नेपाली संघ एनआरएनए तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्ता संघसंस्थाले नेपाली भाषा तथा साहित्यको प्रबर्द्धनमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

लुइँटेलले मौलिक लोकसंस्कृति तथा मातृभाषाको उत्थानका विषयमा खोज अनुसन्धान तथा प्रवर्द्धनमा सम्बन्धित निकायहरू लाग्नु पर्ने विचार राखेका थिए ।

१ नम्बर प्रदेश संयोजक तथा अनेसासका उपाध्यक्ष राजेन्द्र केसीले भेला तथा भावी कार्यक्रमको रुपरेखा बारे प्रकाश पारेका थिए ।

अनेसास केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, महासचिव ऋषभदेव घिमिरेलगायत वक्ताले शुभकामना व्यक्त गर्दै नेपाली भाषा, कला, साहित्य तथा संस्कृतिको उन्नयन तथा विश्वब्यापीकरणमा जोड दिएका थिए ।

कार्यक्रममा कवि निर्मला कोइराला, रामबाबु दाहाल, मधु पोखरेल, सबिता गौतम दाहाल, राधिका गुरागाईं, इश्वरा ओझा, रमधा घिमिरे लगायत कवि तथा साहित्यकारहरुको उपस्थितिमा भएको भेलाले बहुभाषिक साहित्यिक गोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रम प्रदेश संयोजक मणीराज अर्यालको अध्यक्षतामा भएको थियोे ।

385
Shares
१८ कार्तिक २०७९, शुक्रबार १४:५४