नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरू गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । स्वदेशी उद्योगी, व्यवसायीहरुलाई मारमा पार्ने काम बैंक तथा वित्तिय संस्थाहरुले गरेकाले मुलुकको अनधिकृत व्यापार फष्टयाएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन् ।विरोध प्रर्दशनमा महासंघ अन्तर्गतका सबै उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए । उनीहरुले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढि ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए ।
महासंघले ब्याजदर घटाउनेलगायतमा माग राखि अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।