सतिसकुमार राजवंशी
विराटनगर । निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका नेता कार्यकर्ता मतदातामाझ विभिन्न बाचा र प्रतिवद्धता लिएर पुगिरहेका छन् ।
विगतमा पनि उनीहरुले अनेक खालका प्रतिवद्धता जनाउँदै आएका छन् । मतदाताहरुले भने आफ्ना समस्याको समाधान गर्न नेताहरुले बाचा गरेअनुसार ध्यान नदिएको बताएका छन् ।
दीगो विकास, कानुनी राज्यको अनुभूति गराउने, आधारभूत आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धता यसपटक पनि दोहोर्याउँदै उम्मेदवारहरु मतदातासमक्ष पुगिरहेका छन् ।
मोरङको क्षेत्र नम्बर ५ मा पनि कतिपय पहिलेका अनि केही नयाँ उम्मेदवारहरु मतदाता आकर्षित गर्न लागिरहेका छन् ।
उक्त क्षेत्रको जहदा गाउँपालिका वडा ३ को सुकुम्बासी मुसहर वस्तीमा पिउने पानी अभाव छ । यो निकै वर्षदेखिको समस्या हो । विगतमा चुनावका बेला तत्कालै पानीको व्यवस्था गर्ने भनेका नेताहरुले बाचा पूरा नगरेको स्थानीयको भनाइ छ ।
उक्त बस्तीमा ९ परिवारका ५० जना सदस्य छन् । सबैका लागि पानीको एउटै स्रोत छ– एउटा चापाकल । धेरैजनाले एकमात्र चापाकलको पानी प्रयोग गर्नुपर्दा समस्या हुने गरेको उनीहरुले बताएका छन् ।
बिहानै नउठे पानी भर्न धेरै समय पर्खनुपर्ने अवस्था छ । अन्यत्र काममा जानेहरु पानी भर्नकै लागि समय बिताउनुपर्दा समस्या पर्ने गरेको बताउँछन् ।
स्थानीय कवितादेवी ऋषिदेवका अनुसार बस्तीका महिलाहरुलाई नुहाउन धैरै कठिनाइ हुने गरेको छ । सार्वजनिक चापाकल सडकमै रहेकोले नुहाउँदा समस्या पर्ने गरेको हो ।
साना बालबालिकालाई हात–खुट्टा धुन पनि धेरै समय पर्खनु पर्ने अवस्था छ । घरमा खाना पकाउन ढिलो हुँदा उनीहरु विद्यालय पनि ढिलो जाने गरेका छन् ।
‘स्कुल जैला लेट हैछे, त सर सब मारैछै , कल आवैछिये त कल पर भीड रहैछे सै खातिर स्कुल जैला लेट हैछे’ (स्कुल जान जहिल्यै ढिलो हुन्छ, सरले पिट्नुहुन्छ, कलमा भीड हुन्छ, त्यसैले स्कुल जान ढिला हुन्छ।) ९ वर्षीय विकास ऋषिदेवले भने ।
यसैगरी स्थानीय हुलय ऋषिदेव भन्छन्, ‘एउटा सरकारी चापाकलमा ९ जना परिवारका सदस्यले वर्षौंदेखि पानी पिउन बाध्य छौं । पानी भर्ने होडमा धेरैपल्ट झगडा समेत हुने गरेको छ ।’
धैरेजनाले प्रयोग गर्दा कल चाँडै बिग्रने गरेको छ । लुगा धुने, जुठो भाडा मस्काउने, खानेपानी भर्नेको चापाकलमा भीड लाग्ने गर्छ ।
उक्त क्षेत्रबाट विगतमा निर्वाचनमा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका शिवकुमार मण्डल र जनता समाजवादी पार्टी नेपालका जयराम यादव संसदमा पुगिसकेका छन् । दुवैजनाले मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए । यादव हाल प्रदेश १ का स्वास्थ्य मन्त्रीसमेत छन् ।
(प्रशिक्षार्थी)