विराटनगर । उत्कृष्ट प्रदर्शनबीच क्यामरुनको एभिनीयर फुटबल क्लब पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शुक्रबार सिरहाको सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि क्यामरुन गोल्डकपबाटै बिदा भएको हो । उत्कृष्ट प्रदर्शन गरे पनि खेलको नतिजा आफ्नो पक्षमा पार्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।

खेलमा ६०–४० को प्रदर्शन गरे पनि विपक्षी बार तोड्न नसक्दा आफू स्तब्ध बन्दै क्यामरुनले नतिजा सिरहालाई सुम्पिएको हो । क्यामरुनलाई बिदा गरेको सिरहा भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विदेशी पाहुना टोली क्यामरुनमाथि हाबी भएको सिरहाको जितमा दुवै गोल फोडे फोफोनाले गरेका हुन् । क्यामरुनलाई पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको सिरहाका तर्फबाट फोडेले ७ र ६७ औँ मिनेटमा गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ७ औँ मिनेटमा डी–बक्सभित्र प्राप्त बललाई फोडेले पोस्टको दिशा दिँदा क्यामरुन सुरुवाती दबाब झेल्न बाध्य भयो । तर सिरहाको अग्रता पहिलो हाफसम्म मात्रै टिक्यो ।

पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै क्यामरुन खेलमा फर्कियो । सिरहाका दुई जना खेलाडीलाई बिट गर्दै क्यामरुनका सोङ्गले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको हो ।

जित निकाल्ने क्रममा सिरहाका लागि दोस्रो गोल भने मध्यान्तरपछि मात्रै सम्भव भयो । ६७ औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्यो । डी–बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेका हुन् ।

उत्कृष्ट प्रदर्शनका बाबजुद क्यामरुन भने निराश बन्यो । सिरहाको तुलनामा उसले गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

खेलको म्यान अफ दी म्याच सिरहाका पेपेले नगद ५ हजार पुरस्कार पाए । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार शनिबार विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं र सहरा क्लब पोखराबीच प्रतिस्पर्धा हुने छ ।

161
Shares
१८ कार्तिक २०७९, शुक्रबार १८:१०