काठमाडौं । नेपालले यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

नेपालकी वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

१० खेलाडीमा समेटिएको भुटानविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो । पहिलो मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

१७ औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् । खेलको ३४ औं मिनेटमा वर्षाले ह्याट्रिक पूरा गरेकी थिइन् ।

लगत्तै ३५ औं मिनेटमा वर्षाले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाइन् । ६५ औं मिनेटमा शुक्रियाले गोल गर्दा नेपालको अग्रता ५-० को बन्यो ।

खेलको ६७ औं मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । डिबक्स भन्दा बाहिर आएर बल रोकेपछि भुटानी गोलकिपर दिक्षिता राईले रातो कार्ड प्राप्त गरिन् ।

खेलको ७२ औं मिनेटमा शुक्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को अग्रता दिलाइन् । ८५ औं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई ७-० को जित दिलाइन् ।

जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा छ । भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु