गगन नुनिया

विराटनगर । मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले १० वर्षे कार्ययोजना तयार पारेको छ । त्यसअनुसार आगमी १० वर्षमा विश्वविद्यालयलाई दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालय बनाउने लक्ष्य राखिएको छ । विश्वविद्यालयमा विद्यावारिधिसम्म पठनपाठन गराउने योजना पनि रहेको जनाइएको छ ।

शैक्षिक सत्र २०७८/८९ देखि मनमोहनले ब्याचलर इन सिभिल र ब्याचलर इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयको पठनपाठन सुरु गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले सिभिल इन्जिनियरिङतर्फको ४८ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फको २४ सिटमा आवेदन खुलाइएको जनाएको छ । ढिलो नगरी कात्तिक ३० गतेसम्म र बिलम्व शुल्कसहित मंसिर ९ गतेसम्म आवेदन दिन सकिने छ ।

०६५ सालमा स्थापना भई डिप्लोमा लेभलका सिभिल, इलेक्ट्रोनिक र इलेक्ट्रिकल इन्जिनियरिङ गरी ३ वटा बिषयको पठनपाठन सुरु भएको मनमोहन स्मृति पोलिटेक्निकमा हाल ७ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।

०६९ सालमा सिभिलको पठनपाठन सुरु गरेको विश्वविद्यालयले ०७२/०७३ देखि आर्किटेक्चर र इलेक्ट्रिकल्स तथा इलेक्ट्रिोनिक्स इन्जिनियरिङ भित्र्याएको हो । हालसालै मनमोहनमा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी बिषयको पढाई समेत सुरु भएको छ ।

आर्थिक वर्ष ०७९/८० देखि स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेस अन्तर्गत स्नातक तहको फार्मेसी र पब्लिक हेल्थ विषयको पठनपाठन समेत सुरु गर्ने तयारी रहेको कलेजका उपकुलपति डा. सुवास श्री पोखरेलले बताए ।  उनले आगामी १० वर्षभित्र दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालयका रुपमा मनमोहन विश्वविद्यालयलाई स्थापित गरिने बताए ।

‘हामीले स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजीको पढाइ सुरु गर्ने योजना पनि बनाएका छौं,’ उनले भने, ‘यसबाहेक स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक र स्नातकोत्तरका सम्पूर्ण कोर्षहरु पठनपाठन गराउने हाम्रो लक्ष्य छ । प्रदेश सरकारले पनि आवश्यक सहयोग गरेको छ ।’

हेल्थ साइन्सेसतर्फ विश्वविद्यालयले बिएएमएलटी, फार्मेसी, पब्लिक हेल्थ र अप्टोमेट्री लगायतका विषयको पठनपाठन समेत सुरु गर्ने योजना रहेको जनाएको छ । कलेजका अनुसार एप्लाइड साइन्स एण्ड टेक्नोलोजीतर्फ एग्रीकल्चर र फरेस्ट्री समेत भित्र्याउने तयारी छ ।

यसै वर्षदेखि स्नातकोत्तरको हेल्थ पोलिसी एण्ड म्यानेजमेण्ट प्रोगाम सञ्चालनको तयारी समेत अघि बढाइएको जनाइएको छ । जसअनुसार यसवर्ष जम्मा ३ वटा कार्यक्रमहरु लन्च हुनेछन् ।

विश्वविद्यालयले तयार पारेको १० वर्षे कार्ययोजना बमोजिम भने आउँदा वर्षहरुमा मनमोहन प्राविधिक विश्वविद्यालयबाट विद्यावारिधिसम्म पठनपाठन गराउने लक्ष्य राखिएको छ ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु