विराटनगर । मोरङको डाँगीहाट युथ क्लब लक्ष्मीमार्गमा जारी पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको चुनौतीलाई बिहीबार टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पन्छाउँदै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

खेलको छिनोफानो टाइब्रेकरमार्फत हुँदा आयोजक डाँगीहाट भाग्यमानी बन्यो । तर घरेलु मैदानमा उसको प्रदर्शन भने फितलो रहयो । आफ्नै मैदानमा जम्न नसक्दा खेल टाइब्रेकरसम्म पुगे पनि डाँगीहाटले नतिजा भने उम्कन दिएन ।

उत्कृष्ट प्रदर्शन गरेको झापा समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भयो । विपक्षी बार भत्काएर परिणाम आफ्नो पक्षमा पार्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । ।

टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको दिशा लिन सकेन ।

झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गरे । एन्जल गुरुङ र प्रशान्त लक्समको प्रहार बाहिरियो । लोकेन्द्र लिम्बूको प्रहारमा डाँगीहाटका गोलरक्षक किशोर गिरी बाधक बनिदिए ।

खेलमा दुवै टिमले बारम्बार गोल गर्ने अवसर पाए । तर अवसरलाई सदुपयोग गर्न सकेनन् । जसका कारण खेल निर्धारित समयमा नसकिएर टाइब्रेकरमा धकेलिएको हो ।

आयोजक डाँगीहाटका सुशील राईको एकपछि अर्को प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले विफल पारिदिए । झापाका रजिन सुब्बाको १४ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले रोकिदिए ।

अभिषेक गुरुङले १८ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । झापाका आशिष चापागाईंले ४२ औँ मिनेटमा प्रहार गरेको ‘फ्रि’ बलमा गोलरक्षक गिरी बाधक बनिदिए ।

खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक गिरीले ५ हजार नगद पुरस्कार पाए । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार शुक्रबार सहलेस युथ क्लब सिरहा र क्यामरुनको एभिनीयर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु