विराटनगर । विराटनगरमा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्यास लिक हुँदा निसास्सिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् ।

कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसास्सिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको डीएसपी श्रेष्ठले बताए । अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगेको थियो । उपचारकै क्रममा दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए । त्यही बेला अचानक ग्यास लिक भएको हो । प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जानकारी डीएसपी श्रेष्ठले दिए । अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उनको भनाइ छ ।

आवश्यक पर्ने ग्यास कोल्ड स्टोरले भण्डारण (स्टक) गरेर राखेको थियो । भण्डारणस्थलबाटै ग्यास लिक भएको पाइएको प्रहरीले जनाएको छ । सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण नगर्दा ग्यास लिक भएर मानवीय क्षति हुन पुगेको स्थानीयले बताए । कोल्ड स्टोरको लापरबाहीले घटना भएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग स्थानीयले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु