सतिसकुमार राजवंशी
विराटनगर । विराटनगर महानगरपालिका–११ की ६५ वर्षीया रमा सेनले यसअघिका निर्वाचनमा पटकपटक मतदान गरिसकेकी छन् ।
तर आफूले दिएको मतको सम्मान भएको महसुस उनले गर्न पाइनन् । आफ्नै वडामा बिहीबार बिहान उम्मेदवारसहित मत माग्दै आएको समूहमा भने उनी पनि सहभागी भइन् । टोलभरि भोट मागेर हिँडिन् । छरछिमेक र साथीसंगीलाई मतदानमा सहभागी हुन अभिप्रेरित गरिन् ।
आगामी मंसिर ४ गतेको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका पर्शुराम बस्नेत घरदैलो र मतदाता भेटघाट गर्दै पुगेका थिए । नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिएका बस्नेत चुनावी अभियान लिएर पुग्दा सेनले स्वागत गरिन् । खुसी व्यक्त गर्दै भनिन्, ‘समृद्धि र विकासका लागि यत्तिका युवाले चुनाव जित्नै पर्छ । यसअघि जितेर गएकाहरुले त केही पनि गरेनन् ।’
राम्रो मान्छेले चुनाव जित्नुपर्छ भनेर नै यसपटक पर्शुरामको चुनावी अभियानलाई साथ दिने निधो गरेको सेन बताउँछिन् । उनका अनुसार ५ वर्षअघि यसरी नै साथ दिएकाले चुनाव जितेर पनि केही काम गरेनन् । आफ्नो ठाउँमा विकासले बाटो नदेख्दा यसअघिका मत त्यत्तिकै खेर गएको उनको ठम्याइ छ ।
पर्शुरामको चुनावी अभियानलाई ७० वर्षीय शंकर गोडीले पनि साथ दिइरहेका थिए । बुढेसकालसँगै चाउरी पर्दै गएको अनुहार, सेतै फुलेका झुस्स दाह्री, वृद्ध अवस्थाले कमजोर बनेको शरीर लिएर उनी चुनावी अभियानमा सामेल भए । उम्मेदवारको समूहसँगै मत माग्दै टोलटोल घुमे । साथीभाइलाई फकाएर पर्शुरामको पक्षमा माहोल बनाउन सक्रिय बने ।
‘५ वर्षअघिको निर्वाचनमा अरुलाई नै चुनाव जिताउन लागियो । तर जितेर गएकाबाट अपेक्षाकृत विकास हुन सकेन । जनताको भोट लिएर गएपछि फर्किएर पनि आएनन् । मतदाताले दिएको मतको अपमान गरे,’ गोडीले भने, ‘५ वर्षअघि जितेका उनै व्यक्ति फेरि उम्मेदवार बनेर भोट माग्दै हिँडिरहेका छन् भन्ने सुनेको छु । हामीसँग आइपुगे भने तपाईंको पालामा के काम गर्नु भयो र फेरि उम्मेदवार बन्नु भएको भनेर प्रश्न गर्छौं । जनअपेक्षा अनुसारका काम नगर्नेलाई फेरि जनतासँग भोट माग्दै आउने नैतिकता छैन ।’
गोडीको भनाइ पर्शुरामसँग प्रतिस्पर्धामा रहेका सत्तारुढ गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका केदार कार्कीप्रति लक्षित थियो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्कीप्रति उनले भारी असन्तुष्टि जनाए । सीमित झुन्ड र स्वार्थ समूहलाई मात्रै च्यापेर जनताको अहितमा काम गरेको आरोप लगाए ।
कार्कीप्रति विराटनगर–११ की ५० वर्षीया शान्ति कामतको गुनासो पनि उस्तै छ । विभिन्न प्रतिवद्धता जनाएर चुनाव जितेका कार्कीले जनहितमा केही पनि काम नगरेको गुनासो उनले पोखिन् । भनिन्, ‘जनताको हितमा काम नगरेर आफ्नो स्वार्थ पूर्ति गर्ने काम कार्कीबाट भयो । अब फेरि चुनाव जित्छु भन्ने आशले भोट माग्दै हिँडिरहेका रहेछन् ।’
‘कार्कीले ५ वर्षभित्रमा गर्छु भनेर जनाएको प्रतिवद्धता बोलीमै सीमित भयो । जनता समस्यामा पर्दा उनीबाट साथ मिलेन,’ कामतले भनिन्, ‘यसअघि हामीले नै चुनाव जिताएका हौँ । हाम्रो मत मात्रै हैन, ५ वर्षको समय पनि त्यत्तिकै खेर गयो ।’ चुनाव जितेर ठाउँमा पुग्दासमेत आफ्ना क्षेत्रका जनताको समस्यामा चासो नदिएको र विभिन्न विवादमा मुछिएको भनेर उनले कार्कीको आलोचना गरिन् ।
कामतले यसपटक जसरी भए पनि पर्शुरामलाई जिताउनुपर्छ भनेर आफू सक्रियपूर्वक लागेको बताइन् । यसअघि भने खुलेरै कार्कीलाई सहयोग गरेको उनले सुनाइन् । ‘राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहेका युवा पर्शुरामको उम्मेदवारीले सबैमा उत्साह छाएको छ । पुरानालाई पाखा लगाएर नयाँलाई जिताउनुपर्छ भन्ने मत बलियो बनेको छ,’ उनले भनिन्, ‘यसपटक हाम्रो क्षेत्रमा पर्शुरामको विकल्प देख्दैनौं । किन भने यसअघि जितेर गएकाले जनतालाई झुक्याउने काम मात्रै गरे ।’
कार्कीले जनविरोधी काम गरेको र उनी अनेक अनियमितता एवं विवादमा मुछिएको कामत बताउँछिन् । उनका शब्दमा पुनः कार्कीलाई जिताउने हो भने अर्को ५ वर्ष पछुताएर बस्नु पर्ने हुन्छ ।
मतदानमा पहिलो पटक सहभागी हुँदैछिन्, २० वर्षीया अञ्जली राय । ‘म पहिलोपटक भोट हाल्दैछु । हामी युवाहरु पुर्शरामजस्ता युवालाई नै जिताउनुपर्छ भनेर सक्रिय बनेका छौँ,’ उनले भनिन्, ‘पार्टी आफ्नो ठाउँमा होला । तर पर्शुरामलाई साथ दिने निधो गरेका छौँ ।’ यसअघि अभिभावक र आफन्तले अरु नै पार्टी तथा उम्मेदवारलाई सहयोग गरे पनि यसपटक भने त्यस्तो अवस्था नरहेको उनले सुनाइन् ।
रायले वृद्धवृद्धा, युवादेखि लिएर सबैको समस्या बुझ्ने उम्मेदवारका रूपमा पर्शुरामलाई पाएको बताइन् । भनिन्, ‘५ वर्षअघि जिताएकाले केही नगरेपछि यसपपटक धेरैको मन परिवर्तन भएको छ । जनभावना अनुसारको काम नगरेका कारण पुरानलाई अब जनताले साथ दिँदैनन् ।’
हिजो जितेर गएकाहरु फर्किएर एकपटक पनि नआएको र नमस्ते गर्दासमेत नफर्काउने गरेको रायको गुनासो छ । उनले यस्ता व्यक्तिबाट जनभावनाको कदर नहुने निस्कर्षमा आफूहरु पुगेको सुनाइन् ।
घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहेका प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुरामलाई चुनावी अभियानका क्रममा साथ दिनेको लर्को लागेको थियो । मत माग्दै जुन घरमा उनी पुग्थे, त्यही घरबाट उनको अभियानमा साथ दिएर निस्किनेहरुको संख्या उल्लेख्य थियो । सीमित व्यक्तिहरुले एकाबिहानै सुरु गरेको घरदैलो अभियान बीचबीचमा साथ पाउँदै गएपछि केही बेरमै ठूलो समूहमा परिणत भएको थियो ।
भोट माग्दै पुगेको प्रत्येकजसो घरबाट आफूलाई साथ मिलेको पर्शुरामले सुनाए । उनी आफूले सधैँ जनमतको सम्मान गर्ने बताउँछन् । ‘मलाई जनताको भरपुर साथ मिलेको छ । म जनचाहना एवं जनभावनाविपरीतका कुनै पनि काम गर्दिन,’ उनले भने, ‘म जनताको सेवक भएर काम गर्न चाहन्छु । हिजो पनि जनताकै साथमा थिएँ र सधैँ साथमै रहने छु ।’
आफ्नो क्षेत्रका जनताको समस्या र पीडा मज्जाले बुझेको बताउँदै उनले आफूलाई चुनाव जिताएमा समस्या सम्बोधनका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । उम्मेदवार बनेर जनताका बीचमा जाँदा धेरै सम्मान र माया पाएको अनुभव पर्शुरामले सुनाए ।
‘मबाट जनमतको अपमान हुँदैन । चुनावी अभियानका क्रममा जनताका धेरै गुनासो सुन्ने मौका पाएँ,’ उनले भने, ‘हिजो चुनाव जितेर गएकाहरुप्रति जनआक्रोस धेरै छ । म चैँ जनतालाई गुनासो गर्ने ठाउँ दिन्न ।’ आगामी मंसिर ४ गतेलाई परिणाममुखी बनाउन जनताको साथ आफूलाई चाहिएको पर्शुराम बताउँछन् ।
(प्रशिक्षार्थी)