-आईसीसी

विराटनगर । भारतका स्टार क्रिकेटर विराट कोहली ट्वान्टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनकै प्रदर्शनमा बुधबार भारतले बंगलादेशलाई ५ रनले पराजित गरेको छ । रोमाञ्चक खेलको निर्णय अन्तिम बलमा पुगेयता मात्र भएको थियो ।

जितपछि भारत ग्रुप–२ को शीर्षस्थानमा उक्लेको छ । भारतले आइतबार हुने आफ्नो अन्तिम खेलमा जिम्बावेलाई हराउने हो भने सेमिफाइनलमा स्थान निश्चित हुनेछ ।

जितका लागि १६ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्यअगाडि बंगलादेश लड्खडाएको थियो । कोहलीको ६४ रन मदतमा भारतले ६ विकेटमा १ सय ८४ रन बनाएयता बंगलादेश एक समय जिततर्फ अग्रसर देखिएको थियो ।

त्यतिबेला उसले विना कुनै विकेटको क्षति ६६ रन बनाएको थियो । त्यही स्थितिमा पानी परेपछि ४ ओभरले खेल छोट्याइएको थियो । बंगलादेशी ओपनर लिटन दासले २७ बलमा ६० रन बनाए, तर उनी वर्षापछि सुरु भएको खेलमा लगत्तै रनआउट भए । खेल वर्षाले ५० मिनेट रोकिएको थियो ।

‘हाम्रा लागि दिन शुभ रह्यो,’ लामो समयपछि फेरि आफ्नो उत्कृष्ट लयमा फर्केका कोहलीले भने, ‘म अहिले खुसी मनसायमा छु र यस्तै राम्रो इनिङ्समा रमाउन चाहन्छु । अहिले म कुनै प्रकारको तुलना गर्न चाहन्न । पुराना दिनमा जे भयो, भयो ।’

बंगलादेशलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । त्यसमा नुरुल हुसनले एक छक्का र एक चौका प्रहार गरेर केही आस जगाएका थिए ।

तर बायँहाते तीव्र गतिका बलर अर्शदीप सिंहले संयमित रहेर अन्तिम ओभर बलिङ गरी भारतलाई तनावपूर्ण जित दिलाए । लिग चरणमा भारतको ४ खेलमा यो तेस्रो जित हो । हारले बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु