काठमाडौं । साउदी अरबमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ । १५ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।

मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।

रियादस्थित नेपाली दूतावासका अनुसार जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले कात्तिक ६ गते बसाहा–७, बै‌कडाँडा उदयपुरका दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।

साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए ।

जेल प्रशासनले दाहाललाई जेल परिसरभित्रै मृत्युदण्ड दिइएको दूतावासको भनाइ छ । दाहालले २ फेब्रुअरी २००७ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए ।

त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । नियोजित तरिकाले घटना गराएको भन्दै तल्लो अदालतले सुनाएको मृत्युदण्डको आदेशलाई क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो ।

न्यायिक प्रक्रिया समाप्त भएकाले नेपालले दाहालको जीवनरक्षाका लागि सबै तह र तप्कामा क्षमादानका लागि अनुरोध गरिएको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् ।

२००६ मा अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्थे । दाहालले सुतिरहेका बेला विष्ट र सुडानी नागरिक हत्याको प्रयास गरेका थिए ।

विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो । पीडित विष्टको परिवारले दाहाललाई ब्लडमनिबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु