आर्थिक क्षेत्र अन्तर्गतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पार्श्वचित्र तयार पारिने जनाइएको छ । प्रविधि प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योग वाणिज्य संघहरु मार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विवरण पुस महिनाभित्र संकलन गरिने छ । त्यसपछि प्रकाशनको तयारीको काम गरिने जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने सही तथ्यांक नहुँदा मुलुकको आर्थिक विकास हुन नसकेको बताए ।आर्थिक क्षेत्रलाई गतिशील बनाउन सही तथ्यांक आवश्यक रहेकाले महासंघले पार्श्वचित्र निर्माणको काम अघि बढाएको उनले जनाकारी दिए । पाश्र्वचित्र बनेपछि स्थानीय र बाह्य क्षेत्रका लगानीकर्तालाई प्रदेश १ मा नयाँ लगानी भित्र्याउन र लगानी थप्न सजिलो हुने उनको भनाइ थियो ।
महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक क्षेत्रको सही तथ्यांक नभएकै कारण आर्थिक विकासको काम अघि बढ्न नसकेको बताए ।महासंघको पहल र समन्वयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर उत्कृष्ट आर्थिक पार्श्वचित्र तयार गर्ने योजना अघि बढाएको जानकारी उनले दिए ।
सही तथ्यांक र जानकारी प्राप्त भएपछि आर्थिक विकासका लागि नयाँ नयाँ अवसरहरु समेत सिर्जना हुनेमा महासंघ विश्वस्त रहेको राउतले बताए ।
निजी क्षेत्रले आफ्नै पहलमा पहिलो पटक बनाउन लागेको आर्थिक पार्श्वचित्रले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अर्थविज्ञ डा.अर्जुन बरालले बताए । उनले पार्श्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन उद्योगको प्रवद्र्धन गर्ने र सेवा क्षेत्र अन्तरगत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा ठुलो उपलब्धि थपिने दाबी गरे । पार्श्वचित्रले सवैभन्दा बढी फाइदा नीति निर्माण तहमा पुग्ने डा.बरालले बताए ।
मुलुकलाई समृद्ध बनाउने भन्ने नारा विभिन्न राजनीतिक दलहरुले भन्दै आएकोमा त्यसका लागि आवश्यक आधारभूत जानकारी र तथ्यांक नभएको अवस्थामा महासंघसँगको समन्वयमा कम्युनिटी इन्गेजमेन्टस एण्ड आउटरिच प्रालिको प्राविधिक सहयोगमा पार्श्वचित्र निर्माणको काम अघि बढेको हो ।
विज्ञ केछर आचार्यले अध्ययन एवं तथ्यांक संकलनका आधारभूत तरिका, अध्ययनको उपयोगीता र माध्यमहरुबारे अध्ययन सहायकहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्ने तौरतरिकाबारे प्रविधिविज्ञ अविन प्रजापतिले सहजीकरण गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारिणी सदस्य एवं होटल एशोसिएसन प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले यो पार्श्वचित्र निर्माण भएपछि प्रदेश १ को पर्यटन क्षेत्रको प्रवर्द्धन हुने कुरामा आफू विश्वस्त भएको बताए ।
प्रदेश १ को अर्थतन्त्रको अवस्था, आर्थिक गतिविधि, उत्पादन र रोजगारीको वर्तमान अवस्था झल्काउने तथ्यांक तथा विवरण, कृषि उद्योग र सेवा क्षेत्रले गरिरहेको आय, रोजगारी एवं ती क्षेत्रमा भएको लगानी र प्रतिफल झल्काउने विवरणहरु पार्श्वचित्रमा समेटिने जनाइएको छ ।
आर्थिक क्षेत्र र उपक्षेत्रका सवल तथा कमजोर पक्षको पहिचान गर्न आवश्यक पर्ने तथ्यांक तथा जानकारीहरुको सँगालोका रुपमा पार्श्वचित्र तयार हुने नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
अनुशिक्षण कार्यक्रममा प्रदेश नं. १ मा रहेको जिल्ला/नगर उद्योग वाणिज्य संघका कार्यकारी सचिव लगायत २० जनाको सहभागिता थियो ।