विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

निमित्त जेलर तुलसीराम भगतका अनुसार तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको हो । खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । उनी अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।

सजाय भुक्तानका क्रममा तेह्रथुम कारागारमा उनले २ वर्ष बिताइसकेका थिए । तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको निमित्त जेलर भगतले बताए । उनका अनुसार बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार साँझ ६ः१० बजेतिर मृत्यु भएको जानकारी भगतले दिए ।

कारागारका अनुसार खपांगीलाई पेट र पायल्सको पुरानै समस्या थियो । पछिल्लो समय खाना रुची नहुने समस्या पनि थपियो । मृतकको शव कोसी अस्पतालमै राखेर आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको भगतले बताए ।

35
Shares
१६ कार्तिक २०७९, बुधबार ०९:३६