विराटनगर । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा झापाको रोलिङ क्लब धुलाबारी विजयी बन्यो ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा प्रवेश गर्यो । विराटनगर पहिलो खेलबाटै बाहिरिएको छ ।
झापाका रेजिन सुब्बाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । ५१ औँ मिनेटमा डिबक्सभित्र प्राप्त बललाई आकर्षक प्रहार गर्दै सुब्बाले जाली चुमाएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै झापाले नतिजा आफ्नो पक्षमा पारेको हो ।
सुरुवाती अग्रता लिने अवसरमै विराटनगर चुकेको थियो । खेलको ५ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको फ्रिकिक प्रहारमा झापाका गोलरक्षक दीप कार्की रोकिदिए । २२औँ मिनेटमा पनि उनको प्रहार असफल बनेको थियो । ४६ औँ मिनेटमा सुदील राई वान भर्सेस वानको अवस्थामा चुक्न पुगेका थिए ।
७ औँ मिनेटमा झापाका सुजल श्रेष्ठको प्रहारलाई विराटनगरका गोलरक्षक विवश चौधरीले विफल पारिदिए । २७ औँ मिनेटमा झापाका एन्जल गुरुङको प्रहार विपक्षी खेलाडीले क्लियर गरिदिए ।
खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्की घोषित भए । उनले नगद ५ हजार रूपैयाँ पुरस्कार पाए । बुधबार भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता रहेको गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।
विराटनगर र झापाबाहेक प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी छन् ।
प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बलले उचालेको थियो । प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले बताए ।
गोल्डकपको पुरस्कार राशि यसवर्षदेखि बढाइएको छ । यसअघिका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।