गगन नुनिया
मोरङ । धनपालथान गाउँपालिकामा रहेको सडक अव्यवस्थित हुँदा स्थानीय बासिन्दाले कठिनाइ भोग्नु परेको छ । कतै कालोपत्र छ भने धेरै स्थानमा कच्ची अवस्थामै सडक देख्न पाइन्छ ।
साइकलमा करिब पाँच मिनट यात्रा गर्दा कालोपत्र गरिएको सडक भेटिन्छ भने एकैछिनमा कच्ची र अव्यवस्थित सडक खण्ड देखिन्छ ।
कदमाहा चोकदेखि नोचासम्म जोडने सडकको सबै खण्ड कालोपत्र हुन सकेको छैन । कदमाहा चोक रङगेलीतिर जाने बाटोमा पर्छ । उक्त चोकदेखि भारतको सीमालाई छुने सडक पालिकाको वडा १ नोचासम्म छ ।
यो सडकले पालिकाको वडा १, ६ र ७ हुँदै भारतको सीमालाई छुन्छ । सर्वसाधारणको आवत जावतका लागि मुख्य सडक भए पनि अव्यवस्थित हुँदा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।
उक्त क्षेत्रका बासिन्दा सीमापारि भारतको कुवाडीमा गएर समान किन्ने गरेका छन् । स्थानीयले सबैभन्दा बढी प्रयोग गर्ने सडक भए पनि मर्मत र व्यवस्थित नहुँदा समस्या परिरहेको छ । सडक निर्माणको काम पारदर्शी देखिएको छैन ।
वडा अध्यक्ष सन्तोष यादवले अब बाँकी सडक खण्ड पनि निर्माण गर्ने बताए । वर्षाका बेला सडक निर्माणको काम अघि बढाउन नसकिएको उनको भनाइ छ ।
वडा १ को कार्यालयदेखि शान्ति वनको गेटसम्मको बाटो पछिल्लो योजनामा सडक डिभिजनमा परेको थियो । तर निर्माणको जिम्मा लिएका ठेकेदार काम छाडेर बेपत्ता भएपछि सडक अलपत्र बनेको हो ।
(प्रशिक्षार्थी)