स्पेन । स्पेनका भेट्रान डिफेन्डरद्वय जेरार्ड पिके र सर्जियाे रामाेस कतार विश्वकप २०२२ का लागि स्पेनकाे प्रारम्भिक टाेलीमा छनाेट भएका छन् ।

चार वर्षअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घाेषणा गरेका पिके र २०२१ यता टाेलीबाहिर रहेका रामाेसलाई समावेश गर्दै मुख्य प्रशिक्षक लुइस एनरिकेले टाेलीले ५५ सदस्यीय प्रारम्भिक टाेली घाेषणा गरेका छन् ।

निकै फर्ममा देखिएका रामाेसकाे टाेलीमा स्थान हुनु स्वभाविक मानिए पनि लयमा फर्कन प्रयासरत पिकेलाई समावेश गरिनुले समर्थक र विश्लेषककाे मनमा प्रश्न उब्जिएकाे छ ।

स्पेनिस क्लब बार्सिलोनामा स्थान पाउन संघर्ष गरिरहेका ३५ वर्षीय पिकेले यस सिजन क्लबबाट ८ खेल मात्रै खेलेका छन् ।

एरिक गार्सिया, जुल्स कुन्डे, एन्ड्रियास क्रिस्टेन्सेन, रोनाल्ड एराउजो र मार्कोस अलन्सोसँग बार्सिलाेनामा प्रतिस्पर्धा गरिरहेका उनलाई स्पेनकाे अन्तिम टाेलीमा स्थान बनाउन कठिन देखिएकाे छ । तर प्रशिक्षक एनरिकेकाे नजरमा पर्न उनी प्रयासरत छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि यस सिजन १७ खेल खेलिसकेका रामाेसकाे टाेलीमा पूनरागमनको सम्भावना उच्च छ । २०२१ को मार्चयता स्पेनका लागि नखेले पनि उनले मैदानमा पाएकाे माैकामा आफूलाई प्रमाणित गरिरहेका कारण प्रशिक्षक एनरिकेकाे रडारमा उनी परेका हुन् ।

स्पेनले सन् २०१० मा विश्वकप जित्दा उत्कृष्ट भूमिका निर्वाह गरेका यी दुई डिफेन्डरले अन्तिम सूची आफूलाई राख्न एमेरिक लापोर्टा, इनिगो मार्टिनेज, पाउ टोरेस, सिसर एज्पिलिक्वेटा र एरिक गार्सियाको चुनौती पन्छाउनु पर्ने हुन्छ । डिएगो लोरेन्ट, ह्युगो गुइलामोन, नाँचो फर्नान्डेस, डेभिड गार्सिया र यरे अल्भारेज पनि रामोस र पिकेका लागि चुनौती हुन सक्ने देखिन्छ।

स्पेनले विश्वकप २०२२को सुरुवात नोभेम्बर २३ मा कोस्टा रिकासँग खेल्दै गर्ने तालिका रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु