अस्ट्रेलिया । प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै श्रीलंका अस्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटमा सुपर १२ को समूह ‘बी’को तेस्रो स्थानमा उक्लिएको छ ।
ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पाखा लगाउँदै सेमिफाइनलमा आफ्नो सम्भावना जीवितै राखेको छ ।
यता श्रीलंकासँग पराजित भएको अफगानिस्तान विश्वकपबाटै बाहिरिएको छ । प्रतियोगिताका चार खेलको समाप्तिमा अंकविहीन बनेको अफगानिस्तानका दुई खेलमा वर्षा बाधक बनेको थियो ।
अफगानिस्तानले अबको आफ्नो अन्तिम खेल घरेलु टोली अस्ट्रेलियासँग खेल्नु पर्नेछ । यता, अन्तिम चारमा स्थान बनाउन श्रीलंकालाई जित अनिवार्य छ । अंकतालिकामा आफूभन्दा माथि रहेका अस्ट्रेलिया र न्यूजिल्यान्ड बलियो स्थितीमा रहेकाले श्रीलंकालाई दुई अंक ज्यादै महत्वपूर्ण छ ।
समूह ‘बी’को शीर्ष स्थानमा रहेको न्यूजिल्यान्डको तीन खेलबाट पाँच अंक छ । श्रीलंका समान चार खेल खेलेको आयोजक अस्ट्रेलियाले पनि आफ्नो खातामा पाँच अंक बटुलिसकेको छ । तर बलियो मानिएको इंग्ल्यान्डसँग अन्तिम खेल रहेकाले श्रीलंका थप दबाबमा छ ।