मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन हुने छ । डाँगीहाट युथ क्लबले आयोजना गरेको गोल्डकपको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्ने छन् । उद्घाटन खेलमा पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापाबीच प्रतिस्पर्धा हुने गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता रहेको छ । झापा र विराटनगरसहित प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ एवं क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी हुने बस्नेतले बताए ।प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले जितेको थियो । डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार प्रत्येक खेलका म्यान अफ दी म्याचले ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । गोल्डकपको पुरस्कार राशि यसवर्षदेखि बढाइएको हो । यसअघि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए ।प्रतियोगिताको मुख्य सहयोगीमा बेलबारी नगरपालिका र प्रायोजकमा बुद्ध एयरलगायत छन् । गोल्डकप सम्पन्न गर्न ५२ लाख ६१ हजार रूपैयाँ खर्च र ६१ लाख ९० हजार आम्दानी हुने अनुमान रहेको राईले बताए ।
प्रतियोगिताबाट प्राप्त हुने आम्दानीवापतको रकम एकेडेमी सञ्चालन गरी खेलाडी उत्पादन र खेलकुदको विकासमा खर्च गरिने जानकारी राईले दिए । उनका अनुसार मोफसलमा ठूला खेल प्रतियोगिता आयोजना गर्न कठिन हुने भए पनि खेलकुदको विकास, खेलाडीलाई अवसर तथा नयाँ खेलाडी उत्पादनको उदेश्य राखेर गोल्डकप आयोजना गरिँदै आएको छ ।