काठमाडौं । डुंगा दुर्घटना हुँदा नवलपरासीमा ३ जनाको मृत्यु भएको छ । २ जना बेहोस भएका छन् ।

नवलपरासीको सुस्ताबाट फर्कदै गर्दा ५ जना सवार रहेको डुंगा सोमबार साँझ ७ बजेतिर नारायणी नदीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर सुस्ता गाउँपालिका–४ का गोकुल नगरका २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।

२२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहनी बेहोस अवस्थामा भेटिएका छन् । उनीहरुको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

मृत्यु र बेहोस हुनेहरु पिकनिक खान गएका थिए । पिकनिक खाएर फर्किने क्रममा डुंगा अकस्मात नदीमा पल्टिएको थियो । डुंगा डुबेपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको थियो ।

अचेत अवस्थामा नदीबाट निकालिएका ५ जनामध्ये ३ जनाको अस्पताल पुर्याएको केही बेरमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । नदीमा छाल आएर डुंगा पल्टिएको प्रहरीको अनुमान छ ।

नारायणी नदीमा पुल नहुँदा सुस्ता जानका लागि स्थानीयले डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु