काठमाडौं । दोस्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता हुने भएको छ । प्रजातान्त्रिक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने प्रतियोगिता कात्तिक १९ गतेबाट हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० के रोड रेस हुने कार्यक्रम रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गते सम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रा तर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने जनाइएको छ ।
वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनमा हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ वर्ष माथि एकल तथा युगल, ४५ वर्ष माथि एकल तथा युगल, ५५ वर्ष माथि एकल तथा युगल र ६५ वर्ष माथिको एकल छ ।
यस्तै जुनियरतर्फ यु ८ छात्र तथा छात्रा एकल, यु ९ छात्र तथा छात्रा एकल, यु १० छात्र तथा छात्रा एकल, यु १२ छात्र तथा छात्रा एकल, यु १४ छात्र तथा छात्रा एकल र खुल्ला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुने जानकारी गराइयो ।
पहिलो संस्करणको टेनिस प्रतियोगितामा पुरुषतर्फ आरभ सम्राट हाडा र महिलातर्फ सलोनी तामाङ्ग विजयी भएका थिए । पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधी उचालेको थियो ।
३५ वर्ष माथिको पुरुष युगलतर्फ कमलबहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडी, ४५ बर्ष माथिको पुरुष एकलमा विमल कुमार गुरुङ्ग, युगल तर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएका थिए । ५५ वर्ष माथि कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएका थिए ।
३२ लाख लागतको अनुमान गरिएको प्रतियोगितामा पुरुष तथा महिला एकल तर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीहरुले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरुष तथा महिला युगल र पुरुष ३५ वर्ष माथिका शीर्ष तीन विजयी खेलाडीहरुले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।
३५ वर्ष माथिको युगलमा शीर्ष तीन विजेताले २५ हजार, १५ हजार ५ हजार, ४५ वर्षमाथि एकलका शीर्ष तीन विजेताले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्ष माथिको युगल र ५५ वर्ष माथिको एकलतर्फ २० हजार, १० हजार र ५ हजार, ५५ वर्ष मथिको युगल तर्फका खेलाडीहरुले १५ हजार, ८ हजार र ६५ वर्ष माथिको एकलका खेलाडीहरुले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने जनाइएको छ ।
यसका साथै विजयी खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफी समेत प्राप्त गर्ने छन् । टेनिस प्रतियोगिताको संयोजकमा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंह र प्राविधिक संयोजकमा टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य छन् ।