गगन नुनिया
विराटनगर । कोरोनाविरुद्धको खोप लिएको प्रमाण अब क्युआर कोडमा पनि लिन सकिने भएको छ । क्युआर कोड भएपछि पहिलेजस्तो खोप कार्ड बोकिरहनु पर्दैन । विमानस्थल, अरु सार्वजनिक स्थान एवं विदेश जानुपर्दा उक्त क्युआर कोर्ड देखाए सहज हुन्छ ।
विराटनगर महानगरपालिकाका बासिन्दाले महानगरको स्वास्थ्य महाशाखामा विभिन्न प्रक्रिया पूरा गरी क्युआर कोडको प्रमाण पत्र लिन सक्छन् । यसका लागि खोपको पूर्ण मात्रा लगाएपछि नाम दर्ताको नम्बर खोप लगाउने स्थानमा खटिएका स्वस्थ्यकर्मीलाई दिनुपर्छ ।
त्यसपछि स्वास्थ्यकर्मी वा कर्मचारीले खोप लगाएको प्रमाणस्वरुप क्युआर कोड बनाइदिन्छन् ।
खोप लगाएका सम्बन्धित व्यक्ति आफैंले पनि क्युआर कोड बनाउन सक्छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब साइटमा गएर खोजी भन्ने अप्सनमा जानुपर्छ ।
त्यसमा क्लिक गरेपछि प्रि-रजिस्ट्रेसन नम्बर र आफनो जन्म मिति राख्नुपर्छ । यो प्रक्रिया पूरा गरेपछि क्युआर कोड बन्छ ।
खोप लगाइसकेका तर प्रि-रजिस्ट्रेसन नलिएकाहरुका लागि भने पोस्ट-रजिस्ट्रसेन प्रकिया अन्तर्गत क्युआर कोड प्रदान गरिन्छ ।
खोप लगाएको प्रमाण भएको कार्ड, आफनो पासपोर्ट साइजको फोटो, परिचय खुल्ने प्रमाणपत्र (नागरिकता, पासपोर्ट वा चालक अनुमति पत्र) लिएरमहानगरको सहरी स्वास्थ्य महाशाखाको कार्यालय जानुपर्छ ।
पोस्ट-रजिस्ट्रेसनको हकमा बढीमा एक दिनमा क्युआर कोड लिन सकिने महानगरपालिकाका खोप निरीक्षकले बताए ।
हालसम्म १७ हजारभन्दा बढी खोप लगाएका व्यक्तिहरुको क्युआर कोड बनाइएको महाशाखाले जनाएको छ ।
(प्रशिक्षार्थी)