रातको तीन बजेसम्म ओल्टोकोल्टो गर्दै बिताइन् राधाले । थाहा पाए पनि नपाएझैँ गरेर रमेश पनि लडिरहे ओछ्यानमा । निन्द्रा पटक्कै छैन आँखामा ।
गाउँमा वृद्ध आमा एक्लै छिन् । आकाशको भरमा खेती चल्छ । गएर खेती गरेर बसौँ भने वर्ष दिन नाघ्दैन अन्नले। सहर छोरो पढाउन र गुजरा चलाउन पसियो । जसोतसो चलेकै थियो ।
विश्वभर फैलिएको कोरोनाले नेपाललाई अछुतो राखेन।काम, कार्यालय, विद्यालय सबै ठप्प भए । दैनिक गुजारा चलाउन मुस्किल भयो ।
छोराका भने उमेरसँगै माग पनि बढ्दै गएका थिए । सहरको हाउभाउले छोएर आज लगाएको लुगा अर्को दिन नलगाउनु भन्छ। सधैँ फेरेर परिकार खानु पर्ने, राम्रो लगाउनु पर्ने,महङ्गो सामान किन्नु पर्ने, साथीभाइसँग ठुल्ठुला कुरा गरेर गफिनुमा मस्त हुन्थ्यो ।
जतिखेरै मोबाइलमा व्यस्त हुन्थ्यो । आफ्नो योग्यतालाई अगाडि बढाउने ध्यान र मन पटक्कै नदिएको देख्दा पीर रमेशलाई नि नपरेको होइन तर सहजै पचाउँथे वा देखाउन चाहदैँनथे थाहा भएन।
‘ममी ,आज रिजल्ट आउट हुँदै छ । म कलेज जानु छ खाना छिटो पकाइस्यो है’ ढोका ढकढक्याउँदै छोराले भन्छ ।
‘ओहो, कस्तो निदाइएछ । ल ल नुहाइधुवाइ गरेर ठिक पर ।पाकिहाल्छ खाना ।’
छोरो बेलुका अबीर माला सहित घर आउँछ । मैले कलेज टप गरेँ नि ममी । अब सबै कलेजमा भएको खर्च नि फिर्ता दिन्छ रे । अगाडिको पढाइ कलेजले नै बेहोर्छ अरे ।
राधाका आँखाबाट बर्बरी आँशु झर्छन् ।
‘हैट, सधैँ नकारात्मक सोच राखेर छोरालाई गलत सोचिएछ । दुःख सुख बुझेको संस्कारमा हुर्काएको छोरो हो नि हाम्रो । गलत कहाँ हुन्थ्यो र ?’
–विराटनगर १२