लुलाले ५० दशमलव ९ प्रतिशत मत प्राप्त गरेका छन् । बोल्सोनारोले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । वामपन्थी नेता ७७ वर्षीय लुलाले दक्षिणपन्थी बोल्सोनारोलाई पराजित गरेका हुन् । लुलाको जितलाई उनको राजनीतिक पुनरागमनको रुपमा लिइएको छ ।
सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल परेका थिए । उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । ५ सय दिनभन्दा बढी समय जेलमा बिताएपछि अदातलले उनलाई रिहा गर्दै प्रतिबन्ध खारेज गरेको थियो ।लुलाको कार्यकालमा ब्राजिलले तीव्र गतिमा आर्थिक वृद्धि गरेको थियो भने उनको समाजकल्याण सम्बन्धी योजनाको कारण दशौं लाख मानिसले गरिबीबाट छुटाकारा पाइका थिए ।
लगातार दुई कार्यकाल मात्रै राष्ट्रपति हुने पाउने व्यवस्थाको कारण सन् २०१० मा लुलाले राष्ट्रपतिबाट बाहिरिँदा उनको लोकप्रियता व्यापक थियो ।‘ब्राजिलका ट्रम्प’ भनेर चिनिने बोल्सानारोमाथि कोभिड–१९ को महामारीको व्यवस्थापन राम्रोसँग गर्न सकेको भन्दै आलोचना हुँदै आएको थियो । बोल्सोनारोको लिएको नीतिको कारण धेरै ब्राजिलियालीहरुले ज्यान गुमाएको थियो ।
यसपटकको चुनावी परिणामलाई विश्वको फोक्सो भनेर चिनिने अमेजनको संरक्षण सम्बन्धमा पनि जोडेर हेर्ने गरिएको छ । बोल्सोनारो बन फँडानी गरेर कृषिलाई जमिन बनाउने पक्षमा थिए भने लुलाले त्यसलाई रोक्ने बताउँदै आएका छन् । लुलाको जितलाई दक्षिण अमेरिकी देशहरुमा वामपन्थी लहरका रूपमा पनि हेरिएको छ ।