विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित नितेश पेट्रोल पम्पमा आगलागी हुँदा घाइते भएकामध्ये एक जनाको आइतबार राति मृत्यु भएको छ ।

प्रहरीका अनुसार पेट्रोल पम्पको काउन्टरमा लक्ष्मी पूजाको दिन गत कात्तिक ७ गते साँझ ७ः४० बजेतिर आगलागी हुँदा २ जना घाइते भएका थिए । आगलागीमा परेर पम्पका कामदार बूढीगंगा–४ का ३४ वर्षीय गान्धी मण्डल र बूढीगंगा–२ का ५५ वर्षीय अशोक चौधरी घाइते भएका हुन् ।

गम्भीर अवस्थाका मण्डलको विराटनगरको ग्रीन क्रस अस्पतालमा उपचार भइरहेको थियो । अवस्था थप जटिल बन्दै गएपछि थप उपचारका लागि आइतबार कीर्तिपुर अस्पताल लगियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अस्पताल पुर्याउनसाथ चिकित्सकले मण्डललाई राति मृत घोषित गरेको जानकारी दिए ।

उनका अनुसार घटनामा परेर चौधरी सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर फर्किसकेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशंकामा घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु