काठमाडौं । भारतको गुजरातमा आइतबार साँझ पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको उक्त पुल चुँडिंदा १०० जना घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
५० जना जति सम्पर्कविहीन भएका छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान गरिएको छ ।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ ।
वर्षौं पुरानो उक्त पुल केही वर्षयता बन्द थियो । मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
१.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो ।
उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो ।
यसैबीच, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।