विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर आइतबार राति बालकको हत्या गरिएको छ ।

झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ । छठ पर्व हेर्न मावा खोलामा आएका बेला राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । सुरुमा उपचारका लागि उर्लाबारीकै गोदावरी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगियो ।

उपचारका क्रममा सोमबार बिहान ४ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट दियुसको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो ।

छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ । यद्यपि उर्लाबारीकै हाटखोला बस्ने च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ । घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए ।
91
Shares
१४ कार्तिक २०७९, सोमबार ०७:३८