विराटनगरका सिंघिया, केशलियालगायत खोलाका साथै जलाशयहरुमा भेला भएका ब्रतालु एवं श्रद्धालु भक्तजनले बिहान सूर्यलाई अर्घ्य दिएका थिए ।
झिसमिसेमै घाटमा पुगेका श्रद्धालुहरुको उल्लेख्य उपस्थितिले छठ उल्लासमय बनेको थियो ।
कार्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि छ ।
श्रद्धालुहरुले झापाका कन्काइ, मेची, बिरिङ नदीहरुमा पनि सूर्यको पूजा गरेका थिए।ब्रतालु महिलाहरुले घरमा ठेकुवा, भुसुवा जस्ता परम्परागत परिकार र अन्य पूजा सामग्री लिएर नदी, खोला किनारमा बनाइएको पूजास्थलमा भेला भएका थिए ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
शुक्रबारयता घरैमा विभिन्न विधि सम्पन्न गरी आज सूर्यको आराधना गरिएको हो । परिवार, सन्तान र सबैको कल्याण होस् भन्ने कामनाका साथ ब्रतालुहरुले कठोर अनुशासनमा रही ब्रत बस्ने गरेका छन् ।
यस अवसरमा विभिन्न भक्तगान तथा सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गर्ने गरिन्छ ।