विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा आइतबार दिउँसो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा १ वृद्ध पुरुष र २ बालिका पनि छन् । विराट चोक–घिनाघाट सडकखण्डमा को १ ख ५५६० नम्बरको बसले प्रदेश १–०२–००३ ह ७०१६ नम्बरको सीटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सफारीमा सवार ग्रामथान–२ का ४५ वर्षीय सन्तम राजवंशी, चालक २३ वर्षीय शनिलाल राजवंशी, सुनसरीको दुहवी नगरपालिका–७ की २३ वर्षीया अमृता राजवंशी र दुहवी–२ का नितेश माझी घाइते भएका छन् । त्यस्तै बसमा सवार ग्रामथान–४ का ७० वर्षीय बैजनाथ मण्डल, ग्रामथान–६ की ३ वर्षीया प्रिया विक र विराटनगर महानगरपालिका–१ की ५ वर्षीया आयुशा पोखरेल घाइते भएका छन् ।
घाइतेमध्ये सन्तम र बैजनाथको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अरु घाइते सामान्य छन् । सबै घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बसको ठक्करबाट बिजुलीका दुईवटा पोल पनि भाँच्चिएको छ । बसले सफारीलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सफारी चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । बस र चालक मोरङको रंगेली नगरपालिका–२ का ३० वर्षीय देवेन्द्र खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।