स्वतन्त्र नागरिक हौं कसैका दास होइनौं।
खालमा खेल्ने-खेलाउने जुवा तास होइनौं।
हामीलाई सानो सम्झिएर नहेप नउडाऊ,
हाँस्य पात्र हुने हास-परिहास होइनौं।
भुलेर पनि, आसेपासे नठान्नू हामीलाई,
ज्यू हजुरमा सीमित हुने खास होइनौं।
आफ्नै दुई हातका नङ्ग्रा घोटेर बाँचेका छौं,
कुखुरा चोरी जीवन धान्ने खटास होइनौं।
मातृभूमिका स्वाभिमानी सचेत सन्तान हौं,
परजीवी हुर्काउने गोबरको थास होइनौं।
परिआउँदा आँधीबेहरी हौं आगो हौं- तथापि,
हामी शान्तिकामी हौं, कसैको सन्त्रास होइनौं।
कर्मवीर साहसी जागरुक ज्युँदा जन हौं,
चुपचाप अन्याय खप्ने मरेका लास होइनौं।
जगत पालनकर्ता कृषक मजदूर हौं,
हामी कसैका अवैध धनको रास होइनौं।
कर तिरेर गरीखाने राज्यका सिपाही हौं,
राष्ट्रधन चोरी खाने हामी बदमास होइनौं