सतिसकुमार राजवंशी/रस्मी थापा
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानले छठ मनाउन खोला, नदीकिनार भेला हुने श्रद्धालुहरुका लागि सहज भएको छ ।
महानगरले केही दिनअघि नदी, नहर र पानी बग्ने अन्य स्थानहरुमा सरसफाई गरेको थियो । छठ पर्वमा व्रतालुहरु नदी, नहर, पोखरीमा गएर सूर्यको आराधना गर्ने भएकाले महानगरले व्रतालुहरुको सहजताका लागि सरसफाई गरेको हो ।
यसअघि सरसफाई व्रतालुका आफन्तहरुले गर्ने गरेका थिए । सफाइमा पाँच दिन अघिदेखि लाग्नुपर्ने अवस्था हुने गरेको शुत्रmबारेका दिपककुमार पास्वानले बताए ।
सुनिता सहनी आफू सानो छँदादेखि नै आमाले छठ मनाउँदै आएको बताउँछिन् । २२ वर्षीया सुनिता यस अघिको कुनै छठमा पनि महानगरले छठ लक्षित सरसफाई नगरेको अनुभव बताउँछिन् । यस्तो कार्यक्रमले व्रतालुहरुमा खुसी छाएको उनको भनाइ छ ।
विराटनगर वडा न ७ स्थित सिंघियाखोलामा विगत ४० वर्षदेखि छठ मनाउँदै आएका कमहद सहनी सानै छँदादेखि बुवाआमासँग छठका लागि घाट बनाउने गरको र अहिलेसम्म पनि आफूले नै घाट बनाउँदै आएको बताउँछन् ।
पर्वका बेला सामानको मूल्य अकासियो
छठको चहलपहल बढेसँगै बजारमा सामग्रीको मूल्य वृद्धि भएको छ । यसले छठका ब्रतालुहरुमा खर्चको भार थपिएको छ ।
विराटनगरको शुक्रबारेमा २५ वर्षदेखि छठ पर्व मनाउँदै आइरहेकी सुनीता सहनीले महंगी बढेर मर्कामा परेको बताइन् ।
बजारमा पाउने सामानको भाउ एकदमै महँगो परेको छ । दुई वर्षपछि छठ मनाउँदा पहिलाको भन्दा निकै महँगी बढेको उनको अनुभव छ ।
दियो, बत्ती, झिलीमिली लगायत अन्य फलफूलहरु छठमा प्रयोग गरिन्छ । सुठुनी, मुला, अढुवा जस्ता फलहरु चढाउने चलन छ ।
(प्रशिक्षार्थी)