बिम्मी कालिन्दी शर्मा

ठीक ६ वर्षअघि आजैको दिन । त्यो दिन कात्तिक १२ गते शुक्रवार र धनतेरस थियो । त्यस दिन बिहान मैले एउटा अचम्मको सपना देखें । म कहिल्यै तास नखेल्ने सपनामा तास खेल्दा चारवटा एक्का परेर मैले सबै जितेर पैसा सोहरेको सपना देखें ।

सपनामा म ‘मैले जितें मैले जितें’ भन्दै खुसीको आवेगमा उफ्रिँदै थिएँ । आमालाई बिहान उठेर त्यो सपना बताएँ । आमा हाँस्नु भो र भन्नु भो ‘सपनाले संकेत दिसक्यो तँलाई अब कसैले केही गर्न सक्दैन ।’

हामी केही दिनदेखि असाध्यै तनाव मा थियौं र म गहिरो डिप्रेसनमा थिएँ । किनकि दाइहरुले आमाबाट मलाई अलग पार्न अनेक षडयन्त्र गर्दै थिए । उनीहरुले आमा र मलाई दबाव दिँदै थिए म पागल हुँ त्यसैले मलाई पागलखाना लैजान र उपचार गर्न ।

आमा मान्नु भएन किनकि धर्मात्मा मेरी आमालाई थाहा थियो पागल भनेर सद्देलाई पनि पागलखाना लगेर बिजलीको झट्का दिएर जबरजस्ती पागल बनाएर दुःख दिन्छन् । आमाले कहिल्यै कसैलाई पागल भनेर गाली गर्नुहुन्थेन ।

आमा बेलाबेलामा भन्नुहुन्थ्यो ‘पागल भन्नु भन्दा बरु मर भनेर सराप्नु, पागल भए या बनाइएपछि जीवन नर्क हुन्छ केही कुराको होश हुँदैन ।’

त्यसैले आमा दाइहरुले जति कराए या दबाव दिए पनि मान्नु भएन र मैले देखेको सपनाबाट हौसिनुभो । जुन दिन हामीलाई घरबाट निकालिएको थियो त्यो दिन दाइले निर्णय सुनाउँदै मलाई ‘यो पागल हो यसलाई पागलखाना पठाउनुस् हैन भने तपाइँ आमाछोरी मेरो घरबाट निक्लेर वृद्धाश्रम जानुस् या वीरगञ्ज भनेपछि आमा र मैले सधैँका लागि दाइको घर छोडेर वीरगञ्ज आयौं ।

आउने दिन आमाको माहिलो छोराले आमालाई भनेका थिए ‘तपाइँ मसँग हिंड्नुस, यसलाई छोडिदिनुस, यो जहाँसुकै जाओसु । तब आमाले भन्नु भो ‘म यस्तो नकाम गर्न सक्दिन, म तिमीहरुलाई छोड्न सक्छु तर यसलाई छोड्न सक्दिन, मेरो धर्मले दिँदैन ।’

आमाले अन्तिम जवाफ दिनु भो । त्यसपछि दाइ आफ्नो घर फर्के । आमाले मलाई अह्राउनु भो ‘जा तुरुन्तै गएर ट्याक्सी लेर आ अब हामी यहाँ नबस्ने ।

हामी आमा छोरी तीन बजे काठमाडौंबाट सधैँका लागि फर्क्यौं । बाटोमा पानी परिरहेको थियो, आमाछोरी अँगालो मारेर रुँदै फर्क्यौं । आकाशले पनि आँसु झारेर हाम्रो दुःखमा साथ दियो । आमा ट्याक्सीको पछाडि फर्की फर्की हेर्दै हुनुहुन्थ्यो– तीन छोरामध्ये कसैले त रोक्लान् र पछिपछि आउलान् ।

अहँ कोही आएन । वीरगञ्ज पुग्दा घण्टाघरले रातिको साढे दश बजाउँदै थियो । ट्याक्सीमा सामान असरल्ल परे जस्तै त्यो दिन जीवन पनि त्यस्तै भाको थियो । फेरि समेटेर जीवनको दोस्रो शुरुआत गरियो धनतेरसको दिन मनतेरस मनाउँदै ।

यही दिन दिन मेरी आमाका कथित कान्छा छोरा बिमल शर्माले आमालाई झपार्दै भनेका थिए ‘कि वीरगञ्ज जानुस् कि आश्रम गएर बस्नुस् । तपाईँ आमाछोरीलाई म राख्न सक्दिन, अरु दुईजना छोरा मोज गर्ने मैले मात्र तपाईँलाई किन राख्ने? तपाइँहरुलाई राख्न मेरो महिनामा २० हजार रुपैयाँ खर्च हुन्छ । तपाइँहरुले गर्दा मेरो छोराहरुको पढाइ डिस्टर्ब भयो ।’

एक नम्बरको जँड्याहा बिमल शर्माले पिएको बेला आमालाई पिटन हात उठाउँथ्यो। जबकि आमाले आफ्नो खर्च हरेक महिना दिनुहुन्थ्यो जुन उनीहरुलाई पुगेन र बिमल शर्माको आँखा आमाको बैंक ब्यालेन्समा थियो जुन आमाले उसलाई दिनुभएन । अनि त्यही बिमल शर्माले मलाई ‘तँ पागल होस्, तँ देख्दैमा जस्तो देखिन्छेस्, तँलाई पागलखानाबाट मान्छे बोलाएर घिसारेर पठाउँछु, पुलिस बोलाएर तँलाई लछारपछार पारेर यो घरबाट पठाउँछु’ भनेर मेरो अपमान गरेका थिए ।

बिमल शर्माकी श्रीमती शुष्मा शर्मा पागल बनाउन कफीमा मलाई औषधि मिलाएर खुवाउने गर्थिन् जुनपछि मलाई दुईजना डाक्टरले नै भने । त्यतिमात्रै होईन शुषमा शर्मा अनेक झाँरफुँक र जादुटोना गराएर मेरो ओछ्यानमा फाल्न लगाउँथिन् । मेरो तकियामुनि उनले तन्त्रमन्त्र गरेको बिभुतको पुडिया र ल्वाङ भेटिएको थियो ।

यी तिनै बिमल शर्मा हुन् जसको घरको गृहप्रवेश मेरो हातबाट दीयो, कलश गणेश गरेर गराइएको थियो । त्यही घरबाट अपमानित गरेर मलाई र आमालाई निकालियो ।

बिमल शर्माको अचाक्ली र दुष्कर्ममा आमाकै कथित माइला छोरा बिजय शर्माले साथ दिएर त्यो दिन आगोमा घीउ हाल्ने काम गरेकाथिए । हामीलाई जसरी पनि यो घरबाट जानुस् भनेर भनेपछि म र आमाले त्यही दिन आफ्नो सबै सामान लिएर ट्याक्सी गरेर वीरगञ्ज फर्कियौं ।

बाहिर सिमसिम पानी परिरहेको थियो ट्याक्सीभित्र म र आमा अँगालो मारेर रोइरहेका थियौं । आधारातम हामी वीरगञ्ज पुग्यौं । त्यसपछि आमा फर्केर कहिल्यै बिमल शर्माको घरमा जानु भएन, न उनीसँग फोनमा कहिल्यै कुरा गर्नुभयो ।

आज आमा हुनुहुन्न । तिनै बिमल शर्मा र बिजय शर्मा आमाका हत्यारा हुन् जसले वहाँको बाँच्ने चाहनानै खत्तम पारिदिए । शायद त्यो घटना नभएको भए हामी काठमाडौं नगएको भए वा त्यहाँबाट नफर्केको भए शायद आमा यति छिट्टै यो दुनियाबाट जानु हुन्थेन ।

189
Shares
१२ कार्तिक २०७९, शनिबार २०:२१