कला र संस्कृतिको धनी मिथिलामा तिहारको लहर चल्ने क्रम यथावत् छ । श्रावण महिनाको नाग पञ्चमीबाट सुरू भएका चाडपर्व यति बेला समापन नजिक पुगेका छन् । तसर्थ मिथिलामा चाडपर्व सम्बन्धी प्रख्यात भनाई छ ‘लगपाचे पसारे आ रवि–शनि उसारे’ अर्थात नाग पञ्चमीवाट सुरू भएका चाडपर्व मंसिरको अन्तिम आइतबारमा पुगेर विश्राम लिन्छ ।
तिहारको सुवास सेलाउन नपाउँदै, मिथिलामा प्रसिद्ध समाचकेवा सुरू भइसकेको छ । यो छठ पर्वको ‘खरना’ बाट सुरू हुन्छ । यो पर्वलाई दिदीबहिनीहरुले खेलको रुपमा मनाउने गर्छन् । मिथिलाको हरेक घर-परिवारका महिला सदस्यहरु (छोरी, बुहारी, आमा, हजुरआमा) सबैजना एकजुट भएर एकै ठाउँमा रहेर समाचकेवा खेल्ने गर्छन् ।
कार्तिक शुक्ल पञ्चमी तिथिमा माटोबाट विभिन्न आकृतिका मूर्ति, समा, चकेवा, वृन्दावन, चुगला, खानाको परिकार राख्ने विभिन्न भाँडाकुँडा आवश्यकता अनुसार बनाउने गरिन्छ । यो सवै सामग्रीहरुलाई घाममा सुकाई रंगरोगन गरि सजाएर रातो रंगको बाँसको डालामा राख्ने गरिन्छ । परिवारका महिला सदस्यहरुले घरको काम सकाएर राति एकजुट भई गाउँ, टोलको खुल्ला चौर वा घरकै आँगनमा भेला भई विभिन्न गीतको माध्यमबाट समाचकेवा खेल्ने गर्छन् । यसको सुरुवात घर गोसाईंको गीतवाट हुन्छ । गीतको माध्यबाट दिदीबहिनीहरुले आ-आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्ने गर्छन् ।
यो पर्व कार्तिक शुल्क पञ्चमीदेखि कार्तिक पूर्णिमाका दिनसम्म निरन्तर प्रत्येक रात गीति खेलको माध्यवाट मनाइने गरिन्छ । यसमा ‘समा’ भनेको बहिनी हो भन्ने ‘चकेवा’ भाइ हो । यी दुवैबीचको असाध्य माया प्रेमलाई गीतमार्फत दर्शाउने गरिन्छ ।
कार्तिक शुक्ल पञ्चमीको दिन समा माइती आउँछिन् अनि पूर्णिमाको दिन आफ्नो ससुराल फर्किन्छिन् ।
भाइबहिनीबीचको माया र स्नेहमा कसैको कुदृष्टि नपरोस् भन्ने उद्देश्यले एकजना चुगला रुपी पात्र बनाइएको हुन्छ । खेल अवधिमा विभिन्न समयमा चुगलालाई गालीगलौज गर्नुका साथै उसको जुँगादाह्रीमा आगो लगाइन्छ । चुगला पात्रको माध्यमवाट समाजमा व्याप्त कुरीतिलाई दिदीबहिनीले भगाउने प्रयास गर्छन् ।
कार्तिक पूर्णिमाको दिन दिदीबहिनीले घरको आँगनमा नवग्रहबाट बनेको अरिपन बनाइ पिँढ़ीमा दाजुभाइलाई माटोबाट बनेको वृन्दावन, चुगला लगायतका मूर्ति घुटनामा राखेर तोड्न लगाउँछन् । त्यसपश्चात दाजुभाइलाई कोसेलीको रुपमा चुरा, मिट्ठा लगायतका मिठो परिकार खान दिइन्छ । दाजुभाइले दिदीबहिनीलाई आफ्नो गच्छे अनुसारको नगद वा अन्य उपहार दिने गर्छन् । अन्त्यमा, घरका सबै महिला सदस्यहरुले गीत गाउँदै गाउँ, टोलको छेउमा रहेको जोतेको खेतमा लगेर अरपिन विसर्जन गर्ने गर्छन् ।
यो पर्वको मुख्य उद्देश्य दाजुभाइ र दिदीबहिनीबीचको माया, स्नेह र विश्वासलाई सदैव सुमधुर बनाइ राख्नु हो ।
समाचकेवामा महिलाहरु घरगृहस्थीको कामकाजसँगै मनोरन्जका लागि पनि समय निकाल्ने गर्छन् । जीवनलाई सुर, संगित र तालसँग तालमेल मिलाएर जिउने प्रयास गर्छन् । आजका मोर्डन भनिने जमानाका छोरीचेलीहरु आ-आफ्नो अमूल्य संस्कृतिबाट टाढिदै गइरहेका छन् ।
अँध्यारोमा पूर्णिमाको जूनझैं झल्किने हाम्रो संस्कृतिमा लौकिक र अलौकिक शक्तिहरु विराजमान छन् । हरेक चाडपर्वले जीवन जीउने कला सिकाउँछ तसर्थ संस्कृतिलाई रक्षा गर्नु आजको आवश्यकता हो ।