विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल–१० ले ज्योति आधारभुत विद्यालयको भवन निर्माण गर्ने भएको छ ।
विराटनगर–४ स्थित खारजीमा टेबलका पूर्वअध्यक्ष स्वर्गीय सुनिलकुमार टीवडेवालाको स्मृतिमा विद्यालयको भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि विद्यालयका प्रधानाध्यापक भीमप्रसाद पौडेल र विराटनगर प्राइम राउण्ड टेबल–१० का अध्यक्ष राघव राठीबीच शुक्रबार सम्झौता भएको छ ।
३५ लाख लागतमा दुई हजार दुई सय वर्ग फिटको दुई कोठे भवन निर्माण गर्न लागिएको विराटनगर प्राईम राउण्ड टेबल–१० का अध्यक्ष राठीले जानकारी दिए ।
विद्यालय प्रयोजनका लागि बनाइने भवनको माथिलो तल्लामा विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि हल निर्माण गरिनेछ । सम्झौता अनुसारको विद्यालय भवनको निर्माण कार्य छिटो समापन गर्न आफूहरु प्रतिबद्ध रहेको टेबलका अध्यक्ष राठीले बताए ।
कार्यक्रममा राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले बालबालिकाहरुको शैक्षिक विकासमा टेबलले सहयोग गरेको बताए । शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा टेबलले अग्रणी भूमिका निर्वाह गर्दै आई रहेको उनले उल्लेख गरेका छन् ।
सम्झौता कार्यक्रममा उपस्थित विराटनगर महानगरपालिका वडा नंः ४ का वडाअध्यक्ष जितन थापा, राउण्ड टेबल नेपालका केन्द्रीय महासचिव दिवस सुवेदी, कोषाध्यक्ष साकेत मुरारका, जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख टंकप्रसाद गौतम, विराटनगर प्राइम राउण्ड टेबल–१० का सचिव माष्कर सोनी, मोरङ व्यपार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दरा लगायतले योजना सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।